थोरै विद्यार्थी भएका शिक्षकलाई अर्को विद्यालयमा स्थानान्तरण

इनेप्लिज २०७२ साउन २९ गते १:५२ मा प्रकाशित

गोरखाबजार, २९ साउन । विद्यार्थी सङ्ख्या कम भएका गोरखाका विभिन्न विद्यालयका शिक्षकलाई छिमेकी विद्यालयमा स्थानान्तरण गरिएको छ । धेरै विद्यार्थी भएका तर शिक्षक दरबन्दी आवश्यकताअनुसार नपाएका त्यस्ता विद्यालयमा जिल्ला शिक्षा कार्यालयले काज सरुवा गरी शिक्षक खटाएको हो ।

सहायक जिल्ला शिक्षा अधिकारी जनार्दन रिजालका अनुसार थोरै विद्यार्थी भएका जिल्लाका ३८ विद्यालयका शिक्षकलाई अन्यत्रै स्थानान्तरण गरिएका छन् । “३८ विद्यालयका ६८ शिक्षकलाई अन्यत्रै स्थानान्तरण गर्‍यौँ”, उहाँले भन्नुभयो, “तत्कालका लागि विशेष समायोजन गरेका हौं । पछि अर्को व्यवस्था गरिनेछ ।” विद्यार्थी सङ्ख्याभन्दा शिक्षक सङ्ख्या बढी रहेका प्राथमिक तहका विद्यालयका शिक्षक समायोजनमा परेका छन् ।

ती शिक्षक तोकिएको विद्यालयमा हाजिर भई पठनपाठनमा संलग्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । भूकम्पले विद्यालय भवन भत्केपछि थोरै विद्यार्थी भएका विद्यालय सञ्चालनमा आउन सकेका थिएनन् । टहरो निर्माणमा कठिनाइ देखिएपछि त्यस्ता विद्यालयका शिक्षकलाई समायोजन र विद्यार्थीलाई पनि छिमेकी विद्यालयमा भर्ना गरिएको हो ।

“टहरो निर्माण गर्ने, विद्यालय भवन मर्मतका लागि काम अघि बढाउने र विद्यार्थी सङ्ख्या बढाउन सक्ने शिक्षकलाई पुनः आफ्नै दरबन्दी रहेको विद्यालयमा लगिन्छ”, जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले भन्नुभयो ।

प्रतिक्रिया