दरमखोला ‘ए’ असोजभित्र पूरा हुने

इनेप्लिज २०७२ साउन २४ गते १:५० मा प्रकाशित

बागलुङ, २४ साउन । गैरआवासीय नेपालीको लगानीमा निर्माणाधीन दरमखोला ‘ए’ जलविद्युत् आयोजनाको काम आगामी असोजभित्रै पूरा हुने भएको छ ।

साढे दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । साढे दुई वर्षअघि सुरु भएको आयोजनाको इन्टेक र पाइपलाइनको काम सकिएको निर्माणकर्ता सयपत्री हाइड्रोपावर प्रालिले जनाएको छ ।

गत जेठभित्रै विद्युत् उत्पादन सुरु गर्ने भनिए पनि निर्माणमा भएको ढिलाइले असोजमा सरेको हो । आयोजनाका प्रबन्धक गोपाल न्युरेका अनुसार सिभिल चरणका पूर्वाधार निर्माणको काम सकिन लागेको छ ।

रु छयालीस करोडको लागतमा बन्न लागेको आयोजनाको हिल र अर्गल गाविसमा पूर्वाधार बनाई दरमखोलाको पानीबाट विद्युत् निकाल्न लागिएको हो । बाँधबाट एक हजार ७४५ मिको प्रेसर पाइप प्रयोग गरी पानीलाई विद्युत्गृहसम्म ल्याउन लागिएको छ ।

हिल–२ को साँदी भन्ने ठाउँमा बाँध र अर्गल–७ मा रहेको घुस्मेली भन्ने ठाउँमा विद्युत्गृह निर्माण भइरहेको इन्जिनियर न्युरले बताउनुभयो । सिभिल चरणतर्फ पाइपलाइन बिछ्याउने, पाइप रोलिङ, इन्टेकलगायतको काम सम्पन्न भएको प्रबन्धक न्युरेले जानकारी दिनुभयो ।

“विद्युतगृह निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ, असोजभित्र सबै काम पूरा भएर विद्युत् उत्पादन हुन्छ”, न्युरेले भन्नुभयो । उहाँका अनुसार विद्युत्गृहमा उपकरण जडानका लागि पाँच चिनियाँ प्राविधिकसमेत खटिएका छन् । वर्षायाम सुरु भएपछि बाहिरी काम केही प्रभावित भए पनि विद्युत्गृहभित्रको काम भने भइरहेको छ ।

प्रतिक्रिया