पहिरोको त्रासले दरवासीले घर छाड्न थाले

इनेप्लिज २०७२ साउन २० गते २:३४ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २० साउन । म्याग्दीको मुना–७, ८ र ९ मा पर्ने दर गाउँका बासिन्दाले पहिरोको त्रासले घर छाड्न थालेका छन् ।

बस्ती माथिको बारी धाँजा फाटेर पहिरो खस्न थालेपछि सम्भावित दुर्घटनाबाट बच्नका लागि सुरक्षित ठाउँको खोजीमा लागेका हुन् । बेसीका गोठ र डाँडामा रहेका आफन्तको घरमा गएर रात बिताउँदै आएका स्थानीयवासी सुरक्षित स्थानमा अस्थायी बसोबासको तयारीमा छन् ।

यही साउन १३ गतेको भीषण वर्षापछि दर गाउँभन्दा करिब १६० मिटरमाथि रहेको २०० रोपनी जमिन धाँजा फाटेर निरन्तर पहिरो खसिरहेको स्थानीयवासी बेलबहादुर पाइजाले जानकारी दिनुभयो । ९९ घरपरिवारको बसोबास रहेको दरगाउँका २९ घर उच्च र ४७ घर अति जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अति जोखिम र उच्च जोखिममा रहेका घरका बासिन्दालाई त्यहाँ नबस्न अनुरोध गरेको छ । जुनसुकै बेला पहिरो खसेर घर पुर्ने खतरा भएकाले बेसीमा हिउँदमा बस्न बनाएको गोठमा सरेको दरकी रुपसरा बुढाले बताउनुभयो । गुजुमुज्जु बाक्लो घर भएको दरगाउँको झारखोला र सूर्यज्योति प्राविलगायत आसपासका घर उच्च जोखिममा परेका छन् ।

“कतिबेला पहिरो खस्ने हो थाहा छैन ? आकाशमा कालो बादल देखिँदा झनै डर लाग्छ”, डोकोमा दाउरा र खर्च बोकेर बेसीको गोठतर्फ झर्दै गरेकी बुढाले भन्नुभयो, “दिउँसो गाउँ गएर घर र खेतबारीको काम गर्ने, साँझ परेपछि गोठ जाने गरेका छौँ । बर्खा नरोकिएसम्म गाउँको घरमा बस्न डर छ ।”

दरगाउँदेखि माथि रहेको मकैबारीमा एक मिटर सम्मको धाँजा फाटेर पूरै जमिन चिराचिरा परेको छ । चिरा परेको जमिनभित्र पाखोबाट आएको भल र आकासे पानी पसेर हिलो बनेपछि पहिरो बग्न थालेको पहिरोको अनुगमनका लागि दर गएर फर्किएका जिल्ला भूसंरक्षण कार्यालयका सबइन्जिनियर वीरेन्द्र महतोले बताउनुभयो ।

जोखिमयुक्त घरका बासिन्दालाई सुरक्षित ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाउने पहल र अस्थायी बसोबासका लागि ठाउँको खोजी र त्रिपाललगायत राहत सामग्री जुटाउन समन्वय भइरहेको मुना गाविसका सचिव विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रसले दरका पहिरोपीडितका लागि बेनीबाट पाल पठाए पनि सडक र घोरेटोबाटोको खराब अवस्थाका कारण समयमै सम्बन्धित ठाउँसम्म पु¥याउन कठिनाइ भएको छ । त्यहाँ पुगेका पालसमेत सानो भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया