प्रचार अभावमा पश्चिमाञ्चलकै ठूलो शिवलिङ्ग ओझेलमा

इनेप्लिज २०७२ साउन १९ गते २:१८ मा प्रकाशित

Baglung_district_locationबलेवा (बागलुङ), १९ साउन । पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको त्रिपुरेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ ।

जिल्लाको बिहूँ गाविसमा रहेको परमानन्द सन्न्यास आश्रम रामकोट नामले समेत परिचित शिव मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

मन्दिरमा भारतको नमर्दा नदीबाट ल्याइएको शिवलिङ्ग राखिएको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिरमा पाँच क्विन्टल तौल बराबरको शिवलिङ्ग रहेको आश्रमका स्वामी दुर्गानन्द सरस्वतीले जानकारी दिनुभयो ।

सदिऔँ वर्ष अगाडिदेखि अस्तित्वमा रहेको सो मन्दिरको केही वर्ष अगाडि पुनःनिर्माण गरिएको थियो ।
स्वामी दुर्गानन्दका अनुसार केही वर्ष अगाडिमात्रै महायज्ञको आयोजना गरी प्यागोडा शैलीमा त्रिपुरेश्वर महादेव परमानन्द सन्न्यास आश्रम रामकोटको निर्माण गरिएको हो । मन्दिरमा श्रावण महिना शिवरात्रि, अक्षयतृतीया तथा हरेक वर्षको जेठ ११ गते विशेष पूजाआजा तथा मेला लाग्दछ । बिहुँकोट गाविसको पहिचान जोडिएको मन्दिरमा बिहुँ गाविससँगै लेखानी, तङ्ग्राम, रेशलगायतका भक्तजन पूजाआजाका लागि आउने गर्दछन् ।

मध्य पहाडी लोकमार्गबाट ५०० मिटरको दूरीमा घना जङ्गलको बीचमा रहेको मन्दिर समितिको बेवास्ता, स्थानीय तहका नेता कार्यकर्ता तथा जनप्रतिनिधिको उपेक्षाको कारण मन्दिर ओझेलमा परेको मन्दिर व्यवस्थापन समितिका सदस्य रघुपति शर्माले बताउनुभयो ।

उत्खननका क्रममा भेटिएका ऐतिहासिक वस्तु बसाहा, करुवा, कलश जलधारा, ताउलालगायतका वस्तुले मन्दिरको इतिहास लामो भएको हुनसक्ने अनुमान छ । मन्दिर परिसरबाटै दजर्नभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिने सो मन्दिर पर्यटकीय दृष्टिकोणबाट पनि आकर्षक क्षेत्रका रुपमा रहेको छ ।

प्रतिक्रिया