मुस्ताङमा स्याउ टिप्न सुरु, ढुवानीको समस्या

इनेप्लिज २०७२ साउन १८ गते १२:२९ मा प्रकाशित

apple-apple-on-treeमुस्ताङ, १८ साउन । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङका किसानले स्याउ टिप्न सुरु गरेका छन् ।

प्रतिकूल मौसमका कारण यस वर्ष २० प्रतिशतले स्याउको उत्पादन घट्ने अनुमान गरिएको छ । आगामी दशैँ तिहारलाई लक्ष्य गरेर साउन महिनादेखि जिल्लाका किसानले स्याउ टिप्न सुरु गरेका हुन् । उनीहरुले टिपेका स्याउ अहिले जोमसोम, मार्फालगायतका बजारमा जान थालेको छ ।

मुस्ताङी स्याउ म्याग्दी, पर्वत, बागलुङ, कास्की हुँदै राजधानी काठमाडौँमा समेत पुग्न गर्दछ । स्याउको फूल खिल्ने बेलामा परेको लगातार हिमपात र पटक–पटकको असिनापानीका कारण स्याउको दाना कम लागे पनि टिप्न सुरु गरिएको थिनीका अगुवा किसान पलविसी थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार, जोमसोम, मार्फा, टुकुचेलगायतका गाविसमा धमाधम स्याउ टिप्ने क्रम सुरु भएको छ ।

“अहिले केहीले सुरु गरेका छन्, अब सबै क्षेत्रका किसानले टिप्न सुरु गर्छन्,” उहाँले भन्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार, मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङ लगायत ८६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउखेती हुन्छ । किसानले स्याउ टिप्न सुरु गरेपछि स्याउ राजधानीमा व्यापारीको चहलपहल पनि बढ्दै गएको छ । किसानले स्याउ टिपे पनि ढुवानीमा भने समस्या उत्पन्न भएको छ ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत विभिन्न क्षेत्रमा पहिरो जाँदा सिधा यातायात सञ्चालन हुन सकेको छैन । स्याउको उत्पादन घट्ने भएपछि यस वर्ष मूल्य बढ्ने भएको छ । गत वर्ष प्रतिकिलो रु ६० मा बिक्री गरेका किसानले यस वर्ष रु ७० सम्म पु¥याउने तयारी गरेका छन् । मुस्ताङमा पछिल्लो समय व्यक्तिगतभन्दा सामूहिक र सहकारीका माध्यमबाट स्याउखेती गर्ने परम्परा बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया