पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै नारायणी किनार, ४३ लाख लागतमा सौर्यबत्ती जडान

इनेप्लिज २०७२ साउन १८ गते ४:०६ मा प्रकाशित

रत्ननगर (चितवन), १८ साउन । चितवनको नारायणगढस्थित नारायणी नदी किनार पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ ।

सुन्दर रमणीय क्षेत्र र नदी किनारको मजा लिन सकिने भएकाले यहाँ अहिले आन्तरिक पर्यटकको दैनिक भीड हुने गरेको छ ।

सुन्दर दृष्यावलोकन समेत गर्न सकिने र स्वच्छ वातावरण भएकाले अहिले संरक्षण र प्रवद्र्धन गर्न उवासङ्घ चितवन लागि परेको वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले जानकारी दिनुभयो ।

नारायणी किनार प्रदर्शनी मैदानलाई पर्यटकीय क्षेत्र बनाउनका लागि चितवन महोत्सवबाट आएको आम्दानीको केही अंश किनार संरक्षणमा समेत लगाइने गरिएको छ ।

नदी किनारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हालैमात्र सौर्यबत्ती जडान गर्ने कार्यसमेत सकिएको प्रधानले बताउनुभयो । किनारमा अहिले ४५ वटा बत्ती लगाइएको छ ।

भरतपुर उपमहानगरमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र पर्यटन विभागको सहयोगमा रु ४६ लाख ४३ हजारको लागतमा सोलार बत्ती राख्ने कार्य सम्पन्न भएको किनार क्षेत्रको व्यवस्थापन हेर्दै आउनुभएका वरिष्ठ उपाध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

किनार व्यवस्थित भए यहाँ दैनिक तीन हजार बढी पर्यटक भित्र्याउन सकिने सङ्घको दाबी छ ।

अहिले पनि दैनिक सयौँ पर्यटक किनारमा आउने र मनोरञ्जन लिने गरेका छन् । सङ्घका अनुसार उपमहानगरले अझै स्वामित्वको विषयमा कुनै पहल नगरेकाले प्रभावकारी काम नभए पनि उवासङ्घले आफैँ पहल गरेर पार्किङ व्यवस्थापन तथा संरक्षणको कार्य गरिरहेको छ ।

जिल्लामा एउटा पनि सुविधायुक्त प्रदर्शनी मैदान नभएकाले नारायणगढको पुलचोकदेखि दियालो भवनसम्मको क्षेत्रको संरक्षण गरी देशकै उत्कृष्ट प्रदर्शनी मैदान र पर्यटकीय क्षेत्र बनाउन लागिएको बताइएको छ ।
ऐतिहासिक नगरवन क्षेत्र, नारायणी नदी, विभिन्न मठमन्दिरलगायत रहेकाले पनि यो क्षेत्र पर्यटकका लागि आर्कषक रहेको छ ।

प्रतिक्रिया