किसान नेता भीमदत्तको सम्झना

इनेप्लिज २०७२ साउन १८ गते ४:०४ मा प्रकाशित

Bhim Datta photo copyभीमदत्तनगर, १८ साउन । ‘कित जोत हलो, कि त पोत थलो, होइन भने अब छैन भलो’ भन्ने नाराका साथै सुदूरपश्चिमबाट किसान आन्दोलन गर्नुभएका किसान नेता भीमदत्त पन्तको आइतबार ६३औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

स्मृति दिवसमा कञ्चनपुर, कैलाली र डडेल्धुरालगायत सुदूरपश्चिममा विभिन्न कार्यक्रम गरी स्वर्गीय किसान नेता पन्तको योगदानको स्मरण गरियो । नेता पन्तले किसानको पक्षमा सङ्घर्ष गरेको स्मरणमा दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा डडेल्धुराको बागबजारमा उहाँको सालिकमा माल्र्यापण गरिएको थियो ।

त्यसैगरी नेपाली क्रान्ति र सहिद भीमदत्त पन्त विषयक अन्तक्र्रिया गरिनुका साथै उत्कृष्ट किसानलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा सहभागीले किसानको पक्षमा पन्तले दिएको बलीदानीको सम्मान हुन नसकेको धारणा राख्नुभयो ।

पन्तलाई देशद्रोहीको आरोप लगाइ तत्कालीन सरकारले २०१० साल साउन १७ गते निर्ममतापूर्वक हत्या गरेको थियो । यस्तै, कञ्चनपुरको भीमदत्तनगरमा पनि नेकपा (एमाले) कञ्चनपुरले भीमदत्त पन्तको सालिकमा माल्र्यापण गरेको थियो भने कैलालीको धनगढीमा नेपाल किसान पार्टीले पन्तको ६३औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको थियो । पन्तले किसानका लागि गर्नुभएको सङ्घर्षका समीक्षा गरिएकोे थियो ।

डडेल्धुराको कारीगाउँमा १९८३ साल मङ्सिर १० गते जन्मनुभएका पन्त सानै उमेरदेखि निडर र क्रान्तिकारी स्वभावका हुनुहुन्थ्यो ।

प्रतिक्रिया