मोरङमा सोलारको प्रयोग बढ्दै

इनेप्लिज २०७२ साउन १८ गते १:५१ मा प्रकाशित

SOLAR-ENERGYमोरङ (पथरी), १८ साउन । चार वर्षदेखि सोलारको उपभोग गर्दै आउनुभएकी विराटनगर–१६ की बन्दना श्रेष्ठको सोलारमा अहिलेसम्म कुनै समस्या आएको छैन ।

सोलार नहुँदा महिनामा रु ५०० को मैनबत्ती सकिन्थ्यो । छ महिनाअघि मैनबत्ती ननिभाइ सुत्दा स्थानीय दयाराम कार्कीको ज्यान झन्डै गएको थियो । राति सिरकमा आगो सल्किएर आफूसहित सबै परिवारको झन्डै एउटै चिहान भएको कार्की सुनाउनुहुन्छ । कार्कीले त्यस घटनाको केही दिनमै ६० वाटको सोलार जडान गर्नुभयो ।

विराटनगर–१० का विनित शर्माले केही समयअघिसम्म मासिक रु ५०० मैनबत्तीमा खर्च गर्नुपथ्र्यो । पछिल्लो समय विद्युत् भार कटौतीको विकल्प सोलार बन्दै गएको छ । मोरङमा यतिखेर दिनको आठ घन्टा विद्युत् भार कटौती हुँदै आएको छ ।

ओभरलोडका कारण एकदमै कम भोल्टेज आउने र पटकपटक अपडाउनको समस्याले पछिल्लो समय उत्पादनसमेत कटौती गरिएको मोरङ सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगीको भनाइ छ । मोरङमा यतिखेर दैनिक ३५ पटकसम्म विद्युत् कटौती हुनेगरेको छ । भोल्टेज अपडाउन हुँदा विद्युत् खपत बढ्ने र महसुलसमेत बढी आउने गरेको नागरिक सरोकार मञ्चका अध्यक्ष मोहन भट्टराई बताउनुहुन्छ ।

पहाडी र ग्रामीण क्षेत्रमा सोलार प्लान्टको माग बढी रहेकोमा पछिल्लो समय सहरमा पनि सोलारको माग बढेको छ । एकपटक जडान गरेपछि वर्षौंसम्म टिक्ने भएकाले विराटनगरका धेरैजसो घरमा यतिबेला सोलार देख्न सकिन्छ ।

घरका छतछतमा सोलारको पाता जडान गरिएको छ । दिनभरि चार्ज गर्‍यो रातभर बाल्न सकिन्छ । विद्युत् भार कटौतीको विकल्पका रूपमा सर्वसाधारणले सोलार जडान गर्ने क्रम बढेको विक्रेता बताउँछन् ।

विक्रेताका अनुसार बजारमा २० देखि १५० वाट क्षमतासम्मका सोलार उपलब्ध छन् । जसको २० वाटको सोलारको मूल्य रु आठ हजार पर्छ । विशेष गरी २० वाटको सोलार जडान गर्ने ग्राहक बढी छन् । दैनिक ९/१० वटा सोलार विराटनगर क्षेत्रमै बिक्री हुने गरेको विराटनगरस्थित दीपलाइट इनर्जीका सञ्चालक उमेश जोशीले बताउनुभयो ।

विराटनगरलगायत मोरङका उर्लाबारी, बेलबारी, पथरी, विराटचोक, रङ्गेलीलगायतका सहरोन्मुख बजारमा पनि सोलारको माग बढेको विक्रेताको बताउँछन् । यता जिल्ला विकास समिति मोरङको वैकल्पिक ऊर्जा शाखाले मोरङका पूर्वी पहाडी क्षेत्र वारङ्गी गाविसका लागिसमेत खरिद गरेर सो क्षेत्रका ४०० घरपरिवारलाई सोलार वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया