चितवन, १७ साउन । यही सन् २०१५ को नोभेम्बरसम्ममा अनिवार्य रुपमा एमआरपी लिनुपर्ने भएपछि यहाँबाट राहदानी लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालय, चितवनले दिएको जानकारीअनुसार, गत आवमा २० हजार ४१७ जनाले राहदानी लिएका छन् । अघिल्लो आवमा यो सङ्ख्या १६ हजार ३०१ रहेको कार्यालयका नायब सुब्बा कृष्णलाल श्रेष्ठले बताउनुभयो ।
आव ०६९÷७० मा जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ५८५ जनाले राहदानी लिएका थिए ।
प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार, नोभेम्बरसम्ममा एमआरपी अनिवार्य भएकाले विदेशमा रहेकाहरुले समेत एमआरपी लिन आउन थालेपछि यो सङ्ख्या ह्वात्तै बढेको हो । १० वर्षसम्म अवधि रहने हुनाले नेपालमै रहेकाले पनि एमआरपी लिइराख्ने क्रम बढेको उहाँले बताउनुभयो ।
एमआरपीको सङ्ख्या बढेसँगै जिल्ला प्रशासन कार्यालयको राजस्व सङ्कलनमा समेत वृद्धि गरेको छ । लेखा प्रमुख उमाकान्त गौतमका अनुसार गत आवमा रु १० करोड ९५ लाख राजस्व संकलन गरेको छ जसमध्ये सबैभन्दा बढी १० करोड दुई लाख रुपैयाँ राहदानीबाट मात्र संकलन भएको छ । अघिल्लो वर्षभन्दा झन्डै दुई करोड रुपैयाँ राजस्व बढेको कार्यालयले जनाएको छ । राहदानीका अतिरिक्त सार्वजनिक अपराध जरिवाना, हातहतियार र परीक्षा दस्तुर वापतको राजस्व सङ्कलन हुने गर्दछ ।
प्रतिक्रिया