कृषिक्षेत्रमा तीन करोड ७४ लाख अनुदान

इनेप्लिज २०७२ साउन १७ गते १०:५५ मा प्रकाशित

काँकडभिट्टा (झापा), १७ साउन । जिल्ला कृषि विकास कार्यालयबाट झापाका किसानले आव ०७१/७२ मा रु तीन करोड ७४ लाख ९९ हजार विभिन्न शीर्षकमा अनुदान पाएका छन् ।

विसं ०७०/७१ को तुलनामा गतवर्ष दोब्बर बढी अनुदान रकम किसानले पाएको कृषि विकास कार्यालयका बाली प्राविधिक शालिकराम भट्टराईले बताउनुभयो ।

युवा जनशक्तिलाई कृषिमा आकर्षण गरेर मुलुकभित्रै स्वरोजगार बनाउने उद्देश्यले सरकारले अनुदान रकम वितरण गरेको हो ।

कार्यालयबाट गत आवमा च्याउखेतीमा २८३ वटा निवेदन परेकामा ८० जनाले, साना सिँचाइ आयोजनामा ४१२ निवेदन परेकामा ८१ जना (जसमा विभिन्न समूह र संस्थाले), मौरीपालनमा १५० निवेदन परेकामा ४० जनाले, माछापालनमा १४ जनाको निवेदन परेकामा चार जनाले र व्यावसायिक तरकारीखेतीमा एक सय बढी निवेदन परेकामा ६० जनाले अनुदान पाएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार च्याउखेतीमा प्रतिव्यक्ति रु ४० हजार, साना सिँचाइ आयोजनामा डिप बोरिङमा रु ४० हजार, पम्सेट बोरिङमा रु ५० हजार र इनार बोरिङमा रु ७० हजार, मौरीपालनमा रु एक लाख ८० हजार, माछापालनमा रु ४० हजार र व्यावसायिक तरकारीखेतीमा रु ६० हजारका दरले किसानले पाएका छन् ।

त्यसैगरी, साना किसान कृषि सहकारी महारानीझोडा र कामाधेनु महिला सहकारी बिर्तामोडले पनि रु छ लाखका दरले ट्र्याक्टर खरिदलगायतमा अनुदान पाएका छन् ।

व्यावसायिक रुपमा काम गरिरहेका किसानले हालेको निवेदनका आधारमा कार्यालयले अनुदान प्रदान गर्ने नीति रहेको छ । रकम विनियोजन गर्नुअघि प्राविधिकलाई फिल्डमा पठाएर उनीहरुले ल्याएको रेकर्डका आधारमा स्थानीय विकास अधिकारी संयोजक रहेको समितिको बैठकले पारित गरेपछि मात्र तोकिएका किसानलाई अनुदान रकम दिने गरेको प्राविधिक भट्टराईको भनाइ छ ।

गत आवमा इजरायल गएर ११ महिना व्यावसायिक तालिम लिएर आएका ४३ जनामध्ये ३९ जनाले रु एक लाखका दरले अनुदान पाएका छन् ।

प्रतिक्रिया