बौद्धका भूकम्पपीडितलाई सहयोग

इनेप्लिज २०७२ साउन १७ गते ४:५२ मा प्रकाशित

काठमाडौँ, १७ साउन । नागार्जुन बौद्ध अध्ययन संस्थानले बौद्धस्थित नयाँ बस्तीको अस्थायी शिविरमा रहेका भूकम्पपीडितलाई आज करिब रु पाँच लाखको खाद्य सामग्री वितरण गरेको छ ।

भूकम्पपछि सिन्धुपाल्चोकका विभिन्न गाउँबाट विस्थापित भई शिविरमा बसेका करिब १२० परिवारलाई दाल, चामल, तेललगायत खाद्य सामग्री उपलब्ध गराइएको संस्थाका कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिनुभयो । संस्थाले सिन्धुपाल्चोकका अन्य ३५० भूकम्पपीडितलाई शनिबार गोकर्णेश्वरमा भोजन गराएको थियो ।

निर्देशक शाक्यले संयुक्त राज्य अमेरिकाबाट सो संस्थालाई प्राप्त रकमबाट विभिन्न जिल्लाका पीडितलाई सहयोग गर्दै आएको जानकारी दिँदै विपद्मा परी थातथलो छाडेर काठमाडौँका विभिन्न स्थानमा शिविरमा बस्न बाध्य भएका पीडितलाई सहयोगको खाँचो औँल्याउनुभयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले दुःखमा परेका नेपालीलाई सो संस्थाले गरेको सहयोग अन्य सामाजिक कार्यमा लाग्ने सङ्घसंस्था तथा मानिसलाई प्रेरणाको स्रोत बन्ने बताउनुभयो । बौद्ध विद्वान् टीका शेर्पाले भूकम्प गएको १०० दिन बितिसक्दा पनि पीडितको उचित व्यवस्थापन तथा पुनःस्थापना हुन नसकेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया