तरकारीखेतीबाट फाइदा लिँदै मोरङका कृषक

इनेप्लिज २०७२ साउन १५ गते १२:१६ मा प्रकाशित

tarkariपथरी (मोरङ), १५ साउन । सीप सिकेर च्याउखेती गर्न थालेपछि मोरङ बयरवन–८ नर्सरीडाँडाका ६० वर्षीय लीलाबहादुर श्रेष्ठका दिन फेरिएको छ ।

धान, मकै र केराखेती गर्दा पनि आर्थिक लाभ लिन नसक्नु भएका मोरङ बयरवन–८ नर्सरीडाँडाका श्रेष्ठ तीन वर्षयता च्याउखेतीमा लाग्नुभएको हो ।

च्याउखेतीमा सुरुको साल उहाँलाई रु २५ हजार घाटा लाग्यो । अहिले सीप सिकेर खेती गर्न थालेपछि उहाँलाई राम्रो आम्दानी हुन थालेको छ । श्रेष्ठ आफूले उत्पादन गरेको च्याउ आफैँ बजारमा लगेर बेच्नुहुन्छ ।

दैनिक ३५ देखि ५५ केजी च्याउ उत्पादन गरिरहनुभएका श्रेष्ठ सम्पूर्ण उत्पादन साइकलमा हालेर गाउँगाउँ डुलेर कराइकराइ बेच्ने गर्नुहुन्छ । बजार मूल्यभन्दा १५/२० रुपैयाँ सस्तोमा बेच्दै आउनुभएका श्रेष्ठ भन्नुहुन्छ – “सानो ठाउँमा बजारको समस्या छ तर, धानखेती, मकैखेती र केराखेतीबाट भन्दा च्याउबाट आर्थिक लाभ भएको छ ।”

एकाबिहानै श्रेष्ठ दम्पती च्याउ काट्न खट्नु हुन्छ र प्लास्टिकको झोलामा एक पावा (२५० ग्राम)का दरले प्याकिङ गर्नुहुन्छ । त्यसपछि बिहान ६ बजेतिर च्याउ बेच्न गाउँ निस्कनु हुन्छ ।

साइकलमा झन्डै ३० किलोमिटर घुम्दा बोकेका सबै च्याउ बिकिसक्ने उहाँ बताउनुहुन्छ । श्रेष्ठले यसरी व्यापार सुरु गरेको साढे दुई वर्ष पूरा भयो । श्रेष्ठ भन्नुहुन्छ – “एउटा छोरा विदेशमा छ, अर्काे काठमाडौँमा । दुवैले साथ दिएका छैनन् । श्रीमान् श्रीमती मात्र खट्छौँ ।”

उहाँले यो याममा ४०० पोका च्याउ हाल्नुभएको छ । एक पोकाले न्यूनतम पाँच केजी उत्पादन दिने गर्छ । सबै काममा श्रीमान् श्रीमती आफैँ खट्ने भएकाले यो याममा रु दुई लाख शुद्ध नाफा हुने उहाँको भनाइ छ ।

केजीको रु २०० मा बेच्दा प्रतिकेजीमा रु १०० नाफा हुने उहाँ बताउनुहुन्छ । सहकारीबाट कर्जा लिएर च्याउखेती गर्न थालेपछि उहाँ अचेल गाउँ कै नमुना उद्यमी बन्नुभएको छ ।

उहाँमात्र होइन वैदेशिक रोजगारबाट फर्किएपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाका युवा सामूहिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । तीन÷चार वर्ष मलेसिया बसेर आएका हरि पौडेल, खगेन्द्र तामाङ, प्रकाश राई, बुद्धिलाल निङलेखु अहिले शनिश्चरे–१२ स्थित मिलनचोकमा तरकारीखेती गरिरहनु भएको छ ।

सो समूहले तीन बिगाह दुई कट्ठा जमिनमा अहिले तितेकरेला, घिरौला, झिङ्नी, लौका, भिन्डी लगाएका छन् । एक याममा तरकारी बेचेर कम्तीमा मासिक रु पाँचदेखि सात लाख कमाइ हुन्छ । असारभरि मात्रै तितेकरेला, लौका, घिरौला बेचेर रु पाँच लाख आम्दानी गरिसकेको पौडेलको भनाइ छ ।

उनीहरुले रु तीन लाखको लगानीमा तरकारी खेती सुरु गरेका हुन् । सो क्षेत्रमा उत्पादन भएका तरकारी पथरी, बेलबारी, काने पोखरी, विराटचोकका बजारमा तरकारी पुग्ने गरेको छ ।

सरकारले दक्ष जनशक्तिको विदेश पलायन रोक्न व्यावसायिक च्याउखेती गर्नेलाई बर्सेनि ४० हजारका दरले सहयोग दिने गरेको जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेती बताउनुभयो ।

गत आवमा ६० जना कृषकले जनही रु ४० देखि ६० हजार सहयोग प्राप्त गरेका थिए ।

प्रतिक्रिया