मानव अधिकार घुम्ती शिविरको स्थापना

इनेप्लिज २०७२ साउन १३ गते १:४१ मा प्रकाशित

चौतारा, १२ साउन । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकमा स्थापित मानव अधिकार घुम्ती शिविरको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले मङ्गलबार एक कार्यक्रमबीच चौतारामा उद्घाटन गर्नुभयो ।

गत वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा भूकम्प गएको र सोही समय पारेर घन्टी बजाएर शिविरको उद्घाटन गरिएको थियो । सो अवसरमा सदस्य वस्तीले जिल्लाका भूकम्पपीडितको मानव अधिकारको संरक्षण गर्ने उद्देश्यले शिविर स्थापना गरिएको जानकारी दिनुभयो ।

आयोगका अर्का सदस्य सुदीप पाठकले भूकम्पपीडितका बारेमा यथार्थ विवरण आउनेमा विश्वास गर्दै समितिमा रहेका सदस्यले निरन्तर रुपमा खटिएर काम गर्न आग्रह गर्नुभयो । आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले भूकम्पबाट अति प्रभावित जिल्लामा यस प्रकारको घुम्ती शिविर स्थापना गरिने जानकारी दिनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की र गैरसरकारी महासङ्घका केन्द्रीय अध्यक्ष शर्मिला कार्कीले मानव अधिकारको घुम्ती शिविरको स्थापना गर्नुको औचित्यमाथि प्रकाश पार्नुभयो ।

प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले सिन्धुपाल्चोक अति प्रभावित जिल्ला भएको चर्चा गर्दै भूकम्पले जिल्लामा तीन हजार ५५३ जनाले ज्यान गुमाएको र ९५ प्रतिशत घर ध्वस्त भएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ, गैसस महासङ्घ र नेपाल बार एसोसिएसनको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सोम सापकोटाको संयोजकत्वमा युवराज पुरी, भेषराज ढकाल, विजयकृष्ण श्रेष्ठ र दुर्गा आचार्य रहनुभएको पाँच सदस्यीय जिल्ला समितिको गठन गरिएको छ । समितिको अवधि हाल ६ महिना तोकिएको र आवश्यक परेमा पुनः समय थप गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया