विद्युत् आपूर्तिमा हुने अनियमितताले उद्योगी हैरान

इनेप्लिज २०७२ साउन ९ गते ३:५९ मा प्रकाशित

bijuliपथरी (मोरङ), ९ साउन । बढी लोडका कारण विद्युत् आपूर्तिमा हुने अनियमितताले विराटनगरका उद्योगी र सर्वसाधारण हैरान भएका छन् । दुहवी सवस्टेसनबाट विराटनगरतर्फ आपूर्ति हुने विद्युत्मा केही वर्षयता बढीलोडको समस्या भएको हो ।

उद्योग सङ्गठनका मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार बढी लोडको समस्या सबैभन्दा बढी कटहरी क्षेत्रका उद्योगले झेल्नु परेको छ । कटहरी क्षेत्रमा दैनिक ३५ पटकसम्म विद्युत् कटौती हुनेगरेको छ । उत्पादनमा मात्रै होइन मेसिन बिग्रिने समस्या बढेको अग्रवालको भनाइ छ ।

टङ्कीसिनवारी दक्षिणमा आरती स्ट्रिप्स, रघुपति जुटमिल, विराटनगर जुट मिल, सेलो तेल, बाबा भेजिटेवल, पूर्वाञ्चल प्लास्टिक उद्योग, क्वालिटी समूहका विभिन्न उद्योगसहित करिब ८० वटा ठूला उद्योग सञ्चालनमा छन् ।

बढी लोडका कारण एकदमै कम भोल्टेज आउने र पटक–पटक अनियमितताको समस्याले पछिल्लो समय उत्पादनसमेत कटौती गरिएको सेलो तेल उद्योगका सञ्चालक नन्दकिशोर राठीले जानकारी दिनुभयो ।

कम क्षमताको कन्डक्टरमा बढी विद्युत् आपूर्ति गर्दा जोखिमसमेत बढेको राठी बताउनुहुन्छ । मोरङको टङ्कीनिसवारीका स्थानीयवासीले आफ्नो जग्गामा पोल गाड्न नदिएपछि विद्युत् प्राधिकरणको कन्डक्टरको क्षमता विस्तार तीन वर्षदेखि अलपत्र हुँदा उद्योगीलाई समस्या भएको हो ।

उद्योग सङ्गठन मोरङका ऊर्जा समिति संयोजक राकेश सुरानाका अनुसार तीनवटा पोल गाड्ने हो भने टङ्कीनिसवारीदेखि दक्षिणको विद्युत् बढी लोडको समस्या समाधान हुन्छ । हालको कन्डक्टरबाट सात मेगावाट विद्युत् मात्रै प्रवाह हुनसक्छ । थप विद्युत् आपूर्तिका लागि प्राधिकरणले सुरु गरेको कन्डक्टर विस्तारमा टङ्कीसिनवासीका बासिन्दाले पोल गाड्न नदिएपछि समस्या देखिएको हो ।

वैकल्पिक उपाय अपनाएर भए पनि कन्डक्टरको क्षमता विस्तार गरी बढी लोडको समस्या समाधान गर्नुपर्ने संयोजक सुरानाले माग गर्नुभयो । उहाँका अनुसार कन्डक्टरको क्षमता विस्तार नहुँदा दुहवी सवस्टेसनबाट ४०० मेगावाट विद्युत् आपूर्ति गरे पनि हालको अवस्थामा टङ्कीसिनवारीदेखि दक्षिणको समस्या समाधान नहुने अवस्था रहेको छ ।

तर अहिलेको कन्डक्टरबाट क्षमताभन्दा ६० प्रतिशत बढी विद्युत् आपूर्ति भइरहेको छ । जसका कारण भोल्टेज ट्रप, पटक–पटक विद्युत् कटौती, फोर्स विद्युत् भार कटौतीलगायतका समस्या बढ्दै गएको छ । विद्युत् बढी लोडले उद्योगी मात्रै होइन सर्वसाधारणसमेत हैरान छन् । टङ्कीसिनवारी दक्षिणी क्षेत्रमा पङ्खा चल्न पनि निकै गाह्रो भएको स्थानीय कृष्ण निरौला बताउनुहुन्छ ।

भोल्टेज अनियमित हुँदा विद्युत् खपत बढ्ने र महसुलसमेत बढी आउने गरेको नागरिक सरोकार मञ्चका अध्यक्ष मोहन भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार विगतमा रु ५–६ सय मासिक महसुल उठ्ने गरेको तर हिजोआज बढी लोडका कारण भोल्टेज तलमाथि हुँदा हाल मासिक रु एक हजारभन्दा बढी महसुल आउने गरेको छ ।

पछिल्लो समय कटहरी क्षेत्रका अधिकांश उद्योगले लाइनबाट भन्दा जेनेरेटर चलाएर उत्पादन गर्ने गरेको सङ्गठनका उपाध्यक्ष तथा क्वालिटी समूहका अध्यक्ष नवलकिशोर काबराले बताउनुभयो ।

प्रतिक्रिया