जोखिममा रहेका बासिन्दा स्थानान्तरण हुन चाहेनन्

इनेप्लिज २०७२ साउन ८ गते २:४४ मा प्रकाशित

बनेपा, ८ साउन । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण पहिरोको उच्च जोखिममा रहेका नौ गाविसमध्ये दुई गाविसका स्थानीय बासिन्दाले स्थानान्तरण हुन अस्वीकार गरेका छन् ।

उनीहरुले पूर्वाधार केही नभएको र सरेर जाँदा जङ्गली जनावरले आक्रमण गर्ने सम्भावना रहेको भन्दै आफू बसेको थातथलो छाडेर स्थानान्तरण हुन नचाहेको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।

उहाँले खासगरी नार्गेगर्गचे र च्याम्रेङवेसी गाविसमा त्यस्तो समस्या देखिएको भन्दै भूगर्भविद्ले दिएको सुझाव पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । स्थानीय विकास अधिकारी तिम्सिनाका अनुसार अहिलेसम्म चार गाविसका १६८ घरधुरी मात्रै स्थानान्तरण भएका छन् ।

जिल्लाको पोखरीचौरी–१ को तुषारे र पात्लेखेतको ५० घरधुरी, वडा नं २ को खारमा रहेको ३३ घरधुरी, वडा नं ३ को रुम्टीमा रहेको १७ घरधुरी विभिन्न निजी जग्गामा स्थानान्तरण गरिएको दैवी प्रकोप तथा उद्धार राहत समितिले जनाएको छ ।

त्यस्तै पोखरीनारायणस्थान गाविसका ४० घरधुरी, शिखरआम्वोटे गाविसको १८ घरधुरी र चण्डेनीमण्डन गाविसको १० घरधुरी नजिकैको स्थानमा स्थानान्तरण भएको छ । यसअघि पहिरोको जोखिमको कारणले च्याम्रेङबेसी गाविसका ३५ घरधुरी सुरक्षित स्थानमा सरिसकेका छन् ।

स्थानीय विकास अधिकारी तिम्सिनाले भूकम्पका कारण पहिरोको उच्च जोखिममा रहेका अन्य पाँच गाविसमा पनि स्थानान्तरणका लागि तीव्र गतिमा काम भइरहेको तर दुर्गम स्थान भएकाले यातायातमा समस्या देखिएको छ भन्नुभयो ।

उहाँले सिसाखानी गाविसमा घनाजङ्गलबाहेक स्थानान्तरण गर्ने उपयुक्त स्थान नभेटिएकाले त्यस्तो स्थानको खोजीसमेत भएको जानकारी दिँदै पहिरोको जोखिम भएका विभिन्न गाविसमा जस्ता, त्रिपाललगायत सामग्री पु¥याएर स्थानान्तरणको काम जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया