मोरङको पहाडी क्षेत्रमा विकासले गति लियो

इनेप्लिज २०७२ असार २५ गते ८:४२ मा प्रकाशित

पथरी (मोरङ), २५ असार । पूर्वी मोरङको पहाडी क्षेत्रमा विकासको गतिले निरन्तरता पाउन थालेको छ । क्षेत्र विकास योजनाअन्तर्गत सरकारले उपलब्ध गराएको रु एक करोडको बजेटबाट पूर्वी मोरङको मधुमल्ला, लेटाङ भोगटेनी, सिंहदेवी, वारंगी, जाँते, लेटाङ, खेरुवा, टाँडीलगायतका पहाडी ग्रामीण क्षेत्रमा विकास निर्माणको काम भएको हो । 

मोरङ क्षेत्र नं ९ को लेटाङ–भोगटेनीस्थित रवि–बाम डाँडा, रामपुर–बताहा सडकखण्ड निर्माण कार्य सम्पन्न भएको जिल्ला विकास समिति मोरङले जनाएको हो । करिब रु ४० लाखको लागतमा ती दुई सडकखण्डको निर्माण कार्य सम्पन्न भएको हो ।

जिविस मोरङका अनुसार सिंहदेवीदेखि उर्लाबारीसम्मको विद्युत् विस्तारको काम सम्पन्न भएको छ । विद्युत् विस्तार भएपछि सो क्षेत्रका एक सय परिवार लाभान्वित भएका छन् ।

त्यस्तै, सो क्षेत्रका खोलानालाको तटबन्धनका लागि विद्यालयका भवन, पुल पुलेसा, थामडाँडा–रामपुर सडकलगायतका १० वटा योजना निर्माणाधीन अवस्थामा रहेको मोरङ क्षेत्र नं ९ का सभासद् डिगबहादुर लिम्बूले बताउनुभयो ।

जिविस मोरङका अनुसार पूर्वी मोरङको बिहीबारे–आइतबारे–उर्लाबारी किसान मार्ग तथा कृतिमान सडकको स्तरोन्नतिका लागि बजेट खर्च गरिएको छ ।

यस अतिरिक्त सो क्षेत्रका विभिन्न खोलामा रु १० लाखको तारजाली लगाउने काम भइरहेको जनाएको छ । त्यस्तै रु आठ लाखको लागतमा धिमाल जाति विकास केन्द्र नेपाल परियोजनाको अधुरो भवन निर्माण कार्यसमेत सम्पन्न भएको सभासद् लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया