कस्तुरीको पाठा चिडियाखानाको जिम्मामा

इनेप्लिज २०७२ असार २५ गते ४:३७ मा प्रकाशित

मुस्ताङ, २५ असार । मुस्ताङको मुक्तिनाथ गाविसस्थित लोप्रा लेकबाट नियन्त्रणमा लिइएको कस्तुरीको पाठालाई सदर चिडियाखाना जाउलाखेलको जिम्मा लगाएको छ ।

भेडाबाख्राको बथानसँगै गोठमा आएका करिब एक महिनाको उक्त पाठालाई गोठालाले अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लाई जानकारी गराएपछि त्यहाँबाट खटिएका प्राविधिकले नियन्त्रण लिएर जोमसोम ल्याएका थिए ।

त्यहाँ सामान्य स्वास्थ्य परीक्षणपछि जङ्गलमा छोडेर पनि बाँच्न सक्ने अवस्था नरहेको पाइएपछि चिडियाखानाको जिम्मा लगाएको एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । एक्याप प्रमुख कुइँकेलले भन्नुभयो, “चिडियाखानामा लगेपछि आम नेपालीले हेर्न पाउँछ भनेर यस्तो निर्णय गरेका हौँ ।” लेकमा भेडाको बथान चरनका लागि जाँदा माउ भागेर जाँदा पाठा एक्लै भएर भेडासँगै गोठ फर्केको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया