मोटो रकम उठाउन पाउनुपर्ने वैदेशिक रोजगार व्यवसायीको माग

इनेप्लिज २०७२ असार २३ गते ११:४१ मा प्रकाशित

काठमाडौँ, २३ असार । खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट, प्रवेशाज्ञाको व्यवस्थाको विरोधमा वैदेशिक रोजगार व्यवसायी सङ्घ आन्दोलनमा उत्रिएको छ ।

नयाँ व्यवस्था लागू भएपछि कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसियाका रु १० हजारदेखि रु २० हजारको हाराहारीमा मात्रै कामदारले यी सात मुलुकमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने हुन्छ ।

व्यवसायी भने यसअघिकै नियमअनुसार मलेसियामा रु ८० हजार, खाडीमुलुकमा रु ७० हजारसम्म अधिकतम रकम उठाउन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

अधिकांश म्यानपावर कम्पनीले निःशुल्क टिकट र प्रवेशाज्ञा ल्याए पनि कामदारमार्फत अवैधानिक रकम असुलिरहेका थिए । अवैध रुपमा असुलिरहेको रकम अझै असुल्न पाउनुपर्ने व्यवसायीको मागलाई आमजनताले नाजायज मागका रुपमा लिएका छन् ।

निःशुल्कको निर्णय फिर्ता लिनुपर्ने माग राख्दै आजदेखि अनिश्चितकालका लागि म्यानपावर बन्दको घोषणा गरिएको सङ्घका अध्यक्ष विमल ढकालले जानकारी दिनुभयो ।

उहाँले बिना तयारी निःशुल्कको व्यवस्था ल्याइएको बताउँदै आफ्ना माग पूरा नभएसम्म म्यानपावर नखोल्ने जानकारी दिनुभयो ।

व्यवसायीले ताहाचलस्थित श्रम ग्राममा वैदेशिक रोजगार विभाग कार्यालय अगाडि आज प्रदर्शनसमेत गरेका छन् ।

श्रम तथा रोजगार मन्त्रालयको गत जेठ २६ गतेको सात मुलुकमा निःशुल्क टिकट र प्रवेशाज्ञाको निर्णय सोमबारदेखि कार्यान्वयनमा लगिएको छ ।

निःशुल्क हवाई टिकट, प्रवेशाज्ञा भएको मागलाई मात्रै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ । नयाँ व्यवस्थाले बर्सेनि करिब रु ५० अर्ब सर्वसाधारण नेपालीको जोगिने मन्त्रालयको भनाइ छ ।

तर व्यवसायी भने निर्णय खारेज गराउन प्रमुख दलका शीर्ष नेताहरुको घरदैलो चाहारिरहेका छन् । व्यवसायीहरुले निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री र संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको भन्दै गलत हल्लासमेत फैलाउने काम गरिरहेका छन् । मङ्गलबार आयोजित एक कार्यक्रममा प्रमुख तीन दलका नेतालाई सहभागी गराएर व्यवसायीले आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।

कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीेले आफूलाई सम्मान कार्यक्रम भन्दै बोलाएर आन्दोलन कार्यक्रम घोषणाको साक्षी बनाउन खोजेको भन्दै मञ्चबाटै आपत्ति जनाउनुभएको थियो ।

कार्यक्रममा सहभागी नेकपा (एमाले)का नेता प्रकाश ज्वालाले भने निःशुल्कको निर्णय ठीक नभएको भन्दै श्रम राज्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आन्दोलन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का नेता हिमाल शर्माले पनि निःशुल्कको निर्णय खारेज गराउन आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा राख्ने कार्यक्रममा जानकारी दिनुभयो ।

वर्तमान सरकारले गरेका सबैभन्दा राम्रा निर्णयमध्ये एक मानिएको निःशुल्क हवाई टिकट, प्रवेशाज्ञाको व्यवस्थाको पक्षमा आमजनता, वौद्धिकवर्ग रहेपनि विगतमा मोटो रकम असुल्न पल्किएका केही म्यानपावर व्यवसायी भने जनभावना विपरित आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया