राती १२ बजेसम्म सौराहा खुला गर्न पर्यटन व्यवसायीको माग

इनेप्लिज २०७२ असार २१ गते ३:४१ मा प्रकाशित

saurahaरत्ननगर (चितवन), २१ असार । नेपालको मुख्य पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा र सौराहा हो । तर काठमाडौँ र पोखराभन्दा सौराहामा आचारसंहितामा कडाइ गरिएपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

चितवनको सौराहामा राती १० बजेपछि होटल बन्द गर्नुपर्ने अवस्था आएको भन्दै रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष लालबहादुर भट्टले दुखेसो पोख्नुभयो । भूकम्पका कारण सुनसान बनेको सौराहा क्षेत्रमा अझै राम्ररी पर्यटन आउन सकेका छैनन् ।

“सबै पर्यटकीय क्षेत्र एकै हो, काठमाडौँ र पोखराले रातभरि खुलाउन पाउने र व्यवसाय गर्न पाउने, तर सौराहामा नपाउने किन”, उहाँले प्रतिप्रश्न गर्नुभयो । वन र वन्यजन्तुलाई असर नगर्ने गरी काठमाडौँ र पोखरा सरहको सुविधा उपलब्ध गराउनसमेत उहाँले चितवनमा हालै आउनुभएका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसँग माग गर्नुभयो ।

रेवान सौराहाका पूर्वअध्यक्ष सुवास गौतमले पाहुना रेस्टुरेन्टमा खाएर होटलमा सुत्न जाँदासमेत मापसे चेकिङ हुने गरेको भन्दै मापसे चेकिङलाई व्यवस्थित गर्न माग गर्नुभयो । कम्तीमा पनि १२ बजेसम्म सौराहा खुला गर्नुपर्ने व्यवसायीको माग छ ।

उनीहरुले भूकम्पले समेत पर्यटन क्षेत्रलाई ठूलो मात्रामा प्रभावित पारेको भन्दै पर्यटनमा असर गर्ने नीतिलाई फराकिलो रुपमा हेर्नुपर्नेमा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी सिहंले राज्यको शून्य लगानीमा सञ्चालित पर्यटन क्षेत्रको विकासका लागि सक्दो सहगोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले रातभरि होटल खुलाउन नपाउने भन्ने नियममा नभएको र व्यवसाय व्यवस्थित गर्न मात्रै आचारसंहिता बनाएको उल्लेख गर्नुहुँदै यसमा परिमार्जन गर्न सकिने बताउनुभयो । सौराहामा सय बढी सुविधायुक्त होटल छन् । ती होटलमा दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता छ । ६० भन्दा बढी रेस्टुरेन्ट छन् ।

प्रतिक्रिया