भीमदत्तनगर, २१ असार । दार्चुलाको उकु गाविस क्षेत्रमा पर्ने महाकाली नदीमा झोलुङ्गेपुल निर्माणको काम अलपत्र परेको छ ।
पुल निर्माणको जिम्मा पाएको एमपी कन्सट्रक्सनको लापरबाहीका कारण पुल निर्माणको कार्य अलपत्र परेको हो । पुल निर्माणका लागि स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलिडार विभाग, झोलुङ्गेपुल महाशाखाबाट ठेक्का स्वीकृत भएको डेढ वर्षभन्दा बढी समय बितिसक्दासमेत निर्माण कार्यले तीव्र गति पाउन सकेको छैन ।
स्थानीय प्रशासनले समयमा नै पुल निर्माण कार्य सम्पन्न गर्न ठेकेदारलाई ताकेता गर्दासमेत आलटाल गर्ने गरेको प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरले बताउनुभयो । पहिले पुलको भारत तर्फको साइटमा पटवारी भवनका कारण ढिलो भए पनि अहिले समस्या समाधानपश्चात् पनि पुल निर्माणतर्फ ठेकेदारले चासो नदेखाएको उहाँको भनाइ छ । सो क्षेत्रमा पुल नहँुदा नदीमा तुइन राखिएको छ तर एकापट्टी भिरालो भएकाले तुइन तान्न समस्या हुने गरेको स्थानीयवासीको दुखेसो छ ।
तुइनमा नदी वारपार गरेबापत प्रतिव्याक्ति ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता स्थानीयवासीसामु छ । ८० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त पुलको लम्बाइ १६९ मिटर रहनेछ । २०७० साल असार पहिलो साता महाकाली नदीमा आएको बाढीले जोलजिवीमा रहेको झोलुङ्गेपुल बगाएपछि अहिले तुइनबाट सो क्षेत्रका स्थानीयवासी जोखिम मोलेर नदी तर्दै आएका छन् ।
प्रतिक्रिया