बालविवाह रोक्ने कार्यमा अग्रसर हुँदै मुक्त कमलरी

इनेप्लिज २०७२ असार ८ गते ४:३५ मा प्रकाशित

Kamalari-in-Kailaliकञ्चनपुर, ८ असार । बालविवाह र बालश्रम रोक्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका सङ्गठित मुक्त कमलरी बालिका अग्रसर भएका छन् ।

अभिभावकलाई बालविवाह र बालश्रम गर्न पठाउँदा हुने जोखिमबारे यहाँका मुक्त कमलरी बालिका सचेतना छर्ने कार्यमा अग्रसर हुँदै आएका छन् ।

बालश्रममा जाँदा शिक्षा, आमाबुबाको स्नेह र बालअधिकारबाट वञ्चित रहनुपरेकाले बालिकालाई कमलरी पठाउने कार्य बन्द गर्नका लागि अभिभावकलाई सचेत पार्ने कार्यमा संलग्न हुँदै आएको अमरज्योति किशोरी क्लबका अध्यक्ष सुनिता चौधरीले बताउनुभयो ।

“बालिकाहरुलाई घरेलु कामदारका रुपमा कमलरी पठाउने कार्य बन्द गर्नका लागि अभियान नै सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “अभिभावकमा चेतनाको स्तर बढेकाले हाल कमलरी पठाउने कार्य निरुत्साहित हँुदै गएको छ ।”

छोरीको सानैमा विवाह गर्ने चलनविरुद्ध समेत सक्रिय रहेका मुक्त कमलरी किशोरीले बालविवाह रोक्नका लागि अभिभावकलाई सचेत पार्न घरदैलो कार्यक्रम गर्दै आएका छन् ।

घरदैलो कार्यक्रममा बालविवाहले ल्याउने जटिलता, बालिकाले भोग्नुपर्ने समस्या र कानुनी व्यवस्थाबारे जानकारी गराउँदै आएको क्लबका उपाध्यक्ष विन्दु रानाले बताउनुभयो ।

क्लबमा आबद्ध सदस्यले प्रत्येक साता बैठक गरी बालिकाको अवस्थाबारे बुझ्ने कार्य गर्दै आएकाले बालविवाह र बालश्रम पठाउने कार्यमा निगरानीसमेत बढाउँदै आएका छन् ।

“गाउँकै एक नौ वर्षीया किशोरीलाई अभिभावकको स्वीकृतिमा विवाह गर्ने प्रलोभनमा भारततर्फ लैजान ठिक्क पारेका अवस्थामा फेला पारी रोक्यौँ”, क्लबका सचिव फूलकुमारी बडायकले भन्नुभयो, “बालिकाका अभिभावकले बालविवाह गर्नु हुँदैन भन्ने नबुझेर यस्तो कार्य गरेका रहेछन् । उहाँलाई बालविवाहका बारेमा सम्झाउँदा अहिले बालिकालाई विवाह गर्नुको साटो अभिभावकले विद्यालय पठाएका छन् ।” अनपढ अभिभावकलाई साक्षर गराउने कार्यमा क्लबका पदाधिकारी संलग्न भएका छन् । “अभिभावक अनपढ हँुदा बालविवाह र बालश्रम जस्तो जघन्य कार्य हुँदै आएकाले उनीहरुलाई साक्षर गराउने कार्यमा संलग्न भएका हौँ”, सचिव बडायकले भन्नुभयो ।

क्लबमा आबद्ध सबैजनाले मासिक रुपमा क्लबको कोषमा रकम वचत गर्ने र फुर्सदको समयमा किसानको खेतमा सामूहिक रुपमा श्रमगरी रकम सङ्कलन गर्दै आएका छन् । सङ्कलित रकम गाउँमा आइपर्ने सामाजिक कार्य र क्लबका पदाधिकारीलाई न्यून ब्याजमा उपलब्ध गराउँदै आएका छन् ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका सहायक जिल्ला शिक्षा अधिकारी पद्मराज भट्टले क्लबमा आबद्ध मुक्त कमलरीहरुले सराहनीय कार्य गरेर समाजलाई गुन लगाएको बताउनुभयो ।

मुक्त कमलरी बालिकाले गरेको कार्यबाट सबैले प्रेरणा लिनुपर्ने उहाँको भनाइ छ । क्लबमा ५० जनाभन्दा बढी कमलरी बालिका आबद्ध रहेका छन् ।

प्रतिक्रिया