गोरखाको जनजागृति उच्च माविलाई लायन्स चौतारीको राहत

इनेप्लिज २०७२ असार ८ गते ४:२८ मा प्रकाशित

पोखरा, ८ असार । विनाशकारी भूकम्पका कारण ध्वस्त भएको गोरखा जिल्लाको अश्राङ गाविस–६ स्थित जनजागृति चण्डी उच्च माविलाई लायन्स क्लब अफ पोखरा चौतारीद्वारा रु दुई लाख ४० हजारबराबरको विभिन्न राहत सामग्री उपलब्ध गराएको छ ।

विद्यालयलाई आवश्यक २० बन्डल जस्तापाता, कक्षा ५ सम्मका विद्यार्थीका लागि १०० थान झोला र अन्य शैक्षिक सामग्री वितरण गरिएको क्लबका सचिव भेषराज बरालले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष तेजबहादुर भट्टराईको सभापतित्वमा यहाँ आयोजित कार्यक्रममा गोरखाका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले विद्यालयका प्राचार्य रमेश पाण्डेलाई राहत सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा जस्तापाता प्राप्त गरेपछि स्थानीय अभिभावकको सक्रियतामा अस्थायी कक्षा निर्माण गरी पठनपाठन सञ्चालन गरिएको प्राचार्य रमेश पाण्डेले जानकारी दिनुभयो । विद्यालयमा हाल एक हजार २०० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया