बरूवा (सिन्धुपाल्चोक), ७ असार । जमिन धाँजा फाटेर ठाउँठाउँमा पहिरो आइरहने भएका कारण अति प्रभावित मानिने बरूवा गाविसस्थित पाँच दसक पुरानो चण्डिका मावि अहिले भाडाको जग्गामा सञ्चालित छ ।
विद्यालयको पुरानो भवन विनाशकारी भूकम्पबाट पूर्ण क्षति भई भग्नावेशले परिसर पुरिएको छ, जहाँ टहरा बनाउने स्थान पनि छैन । पुरानो स्थलभन्दा केही पर रिठ्ठाबारीमा व्यक्तिको जग्गा वार्षिक रु ४० हजार भाडामा अस्थायी टहरा बनाइएको छ ।
विद्यालयमा व्यवस्थित अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माणको जिम्मा लिएको संस्था सम्पर्कमा नआएपछि विद्यालयले आफै टहरा बनाइ पढाइ सञ्चालन गरेको हो । जिल्ला सदरमुकाम चौताराबाट टाढा पर्ने भएकाले मात्र होइन संसदीय अनुगमन समितिको प्रतिवेदनले पनि यहाँको वस्ती स्थानान्तरण गर्नुपर्छ भनेकाले होला यहाँ पर्याप्त सरकारी र गैह्रसरकारी सहयोग पुग्न सकेको छैन ।
विद्यालयका प्रधानाध्यापक ग्याल्बो साम्देन तामाङ आफ्नो विद्यालयमा टिएलसी निर्माणका लागि जिल्ला शिक्षा कार्यालयमा सम्झौता गर्ने सेभ द चिल्ड्रेनले ढिलाइ गरेपछि आफ्नै प्रयासमा टहरा बनाइएको बताउनुहुन्छ ।
टिएलसीका लागि शिक्षा विभागको मापदण्ड, नक्सा र बजेट निकासामा पनि ढिलाइ भएका कारण शिक्षक–विद्यार्थी र अभिभावकले स्वयंसेवा गरेर गत जेठ २० गतेदेखि विद्यालय सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
हालसम्म पूर्व राजदूत डा गणेश योञ्जन, श्याम बुद्धिम फाउन्डेसन, महिला आत्मनिर्भर केन्द्र (मेलम्ची) ले केही भौतिक सहयोग गरेका छन् ।
पूर्वमा इन्द्रवती र उत्तरमा जुगल हिमाल रहेको यस गाविसमा बोलगाउँ, केराबारी, डाँडामाङ, गाङखोर, मानेडाँडा, मकुचेतजस्ता गाउँबाट चार पाँच घन्टा पैदल यात्रा पार गरेर यहाँ विद्यार्थी आउने गरेकामा भूकम्पपछि सबै विद्यार्थी विद्यालय आइसकेका छैनन् । २० जना स्थानान्तरण भएका छन् भने कोही सुख्खा पहिरोको डरले विद्यालय आउँदैनन् । भूकम्पअघि ३११ विद्यार्थी रहेकामा अहिले करिब २५० विद्यार्थी मात्र उपस्थित देखिएका छन् ।
जिल्लाका ११ गाविसका विद्यालयमा सरकारी सहयोग पुग्न सकेको छैन भने गाउँ नै खतराको सूचीमा रहेकाले दुई दर्जन विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा सामुदायिक र निजी गरी कुल ५९१ विद्यालय छन् । भूकम्पका कारण ४६८ विद्यालय प्रभावित र ४००९ कक्षाकोठा ध्वस्त भएका छन् ।
‘विपद्मा शिक्षा ः सहयोग र अनुगमन मञ्च’ सँग कुरा गर्दै सरस्वती उमावि स्रोत केन्द्र, महाङ्कालका स्रोत व्यक्ति भीम कार्कीले अन्तर्राष्ट्रिय गैह्रसरकारी र राष्ट्रिय गैह्रसरकारी संस्थाले विद्यालय पुनः निर्माणको जिम्मा लिएर सम्पर्कमा नआउने संस्थाका कारण नयाँ संस्था समेत आउन नपाएको बताउनुभयो । जिल्लामा हाल ३१ संस्थाले नियमित सहकार्य गरिरहेका छन् ।
संस्थाहरु किन यस्तो गर्छन् ? चाइल्ड नेपालका सचिव रत्न उप्रेती भन्नुहुन्छ, “भूकम्पपछि सहयोग गर्ने संस्था बढेको र सकेसम्म धेरै गाविस तथा विद्यालय एउटैले ओगट्न खोज्ने, पछि सहयोग र साझेदार नपाइने भएकाले समन्वय नमिनेको देखिएको हो ।”
जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरी टिएलसी निर्माणको सम्झौता गरी कार्यारम्भ नगर्ने संस्थाको सम्झौता भङ्गको प्रक्रिया प्रारम्भ भएको बताउँदै संस्थाहरुले आफ्नो प्रगति विवरण नियमित कार्यालयमा उपलब्ध गराउन निर्देश गरिएको बताउनुहुन्छ ।
भूकम्पपछि जिल्लामा केन्द्र (शिक्षा विभाग) बाट खटाइएका उपसचिव प्रमोदकुमार शर्मा पनि जिम्मा लिएर काम नगर्ने र ढिला गर्ने संस्थाबारे अनुगमन गरी नयाँ बाटोमा जान जिल्लास्थित शिक्षा समूह (एजुकेसन क्लस्टर) को बैठकमा निर्देशन दिइएको उल्लेख गर्नु भयो ।
प्रतिक्रिया