पर्यटकीय आर्कषण बन्दै गाइघाटको झरना

इनेप्लिज २०७२ असार ७ गते २:२३ मा प्रकाशित

RT_Baglung_Jharanaबागलुङ, ७ असार । बागलुङको अमरभूमि–४ स्थित पर्यटकीय गाईघाट झरनाले नयाँ स्वरुप पाएको छ ।

पर्यटक लोभ्याउने प्राकृतिक झरना वरिपरि थप पर्यटकीय पूर्वाधार र संरचना निर्माण गरिएको हो । पर्यटन मन्त्रालयको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा झरनाको रुप फेरिएको छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले झरनालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न लागेको हो । यो वर्ष पर्यटन मन्त्रालयबाट प्राप्त रु सात लाख र स्थानीयवासीको डेढ लाख बराबरको जनश्रमदानमा झरना छेउँ पौडी पोखरी निर्माण गरिएको छ । जग्गा व्यवस्थापन र पोखरीको संरचना निर्माणमा बजेट खर्च भएको केन्द्रले जनाएको छ ।

आगामी वर्ष वनभोजस्थल, झरनामा रहेको गुफा अवलोकनको लागि डोरीबाट जाने (क्यानोनिङ) र गाईघाट झरना–भूताह गल्छी पदमार्ग निर्माण गर्ने योजना रहेको केन्द्रका सचिव राज थापाले बताउनुभयो ।

“यसक्षेत्रको प्रसिद्ध गाईघाट झरना र भूताह गल्छीको पर्यटकीय विकास गर्ने उद्देश्यले काम अघि बढाएका छौं’ सचिव थापाले भन्नुभयो ‘सम्भावना भएरपनि यस्ता स्थलहरु ओझेलमा परेका छन् ।”

झरनाको ठीक बीच भागको भित्रपट्टि ४० जना मानिस अट्ने गुफा गत वैशाखमा फेला परेको थियो । दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइँमा पर्नेछ ।

करिब ५० मिटर उचाइको झरना नजिक पर्यटक आकर्षित गर्ने बराह ताल पनि रहेकाले त्यसलाई पनि जोडेर पर्यटीय क्षेत्र बनाउने योजना केन्द्रसँग छ । केन्द्रकै प्रयासमा चालु आवमा पर्यटन मन्त्रालयबाट बजेट विनियोजन भएको हो ।

झरना स्थलमा जग्गा व्यवस्थापनका लागि अमरभूमि गाविसले रु ५० हजार सहयोग गरेको थियो । गाईघाट झरनालाई अमरभूमि, हिल, अर्गल, ताराखोला गाविस छिर्ने प्रवेशद्वारको रुपमा समेत लिने गरिन्छ ।

प्रतिक्रिया