बर्डफ्लु भित्रन नदिन सबै पक्षबीच उच्चस्तरको एकता आवश्यक

इनेप्लिज २०७२ असार ७ गते १:५५ मा प्रकाशित

bird-flu_16वीरगन्ज, ७ असार । बर्डफ्लुको सङ्क्रमण रोक्न जिल्लामा उच्च सर्तकता अपनाउन तथा यो रोग भित्रन नदिन सम्बन्धित सबै पक्षबीच उच्चस्तरको एकता, समन्वय र सहकार्य हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

बर्डफ्लुको सङ्क्रमण रोक्नका लागि बढी व्यवस्थित र प्रभावकारी योजना बनाउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालय पर्साद्वारा आइतबार यहाँ आयोजित सरोकारवालासँगको बैठकमा उहाँहरूले भन्नुभयो, “पर्सा जिल्ला पनि बर्डफ्लुका हिसाबले उच्च जोखिममा रहेकाले यसतर्फ हामीले उच्च सतर्कता र विशेष सावधानी सुरु गर्नुपर्दछ ।”

जिल्लामा बर्डफ्लु रोग भित्रन नदिन हामीले उच्च सतर्कता अपनाउने कार्यलाई अभियानकैरुपमा लाने कार्यमा जुटाएका छौं, जिल्ला पशु सेवा कार्यालय पर्साका प्रमुख पशु चिकित्सक डा. रामपरीक्षण साहले रोग भित्रिन नदिन रोक लगाइएका पन्छी तथा पन्छीजन्य पदार्थको आयात नगर्न, आ–आफ्ना कुखुरा फार्ममा जैविक सुरक्षाका उपाय अपनाउन तथा धेरै पन्छी अकस्मात मृत्यु हुन गएमा नजिकका पशु सेवा केन्द्र र उपकेन्द्रमा तुरुन्त जानकारी गराउन आग्रह गर्नुभयो ।

स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोगमा भारतवाट कुखुरा र पन्छीजन्य वस्तु आयात हुन नदिन प्रयास भइरहेको बताउँदै प्रमुख साहले भन्नुभयो, “जोखिमयुक्त सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाएको र अनुगमन कार्यलाई पनि अत्यन्त प्रभावकारी बनाइएको छ ।”

पशु चिकित्सक डा बैजुलाल गुप्ताले भन्नुभयो, “बर्डफ्लु भित्रिन नदिन सचेतनामूलक कार्यक्रमलाई व्यापकरुपमा अगाडि बढाएको छौँ ।”
बर्डफ्लु भित्रिन नदिन जिल्लामा सचेतनामूलक कार्यक्रमलाई व्यापकरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज धिमिरेले भन्नुभयो, “मानवीय स्वास्थ्यसँग गाँसिएका हुनाले यो रोग भित्रिन नदिन स्थानीय प्रशासनवाट चाहिने आवश्यक सबै सहयोग गर्न आफू तयार रहेको छु ।”

पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले नेपालमा बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने र यसका लागि जनचेतनामूलक कार्यक्रमलाई व्यापकरुपमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया