चितवनमा प्लटिङ रोक्का

इनेप्लिज २०७२ असार ६ गते १०:५८ मा प्रकाशित

Chitwan_district_locationचितवन, ६ असार । भूमिसुधार तथा व्यवस्थापन विभाग र भरतपुर उपमहानगरपालिकाले पत्राचार गरेपछि मालपोत कार्यालय चितवनले प्लटिङ कार्यमा पूर्णरुपमा रोक लगाएको छ ।

कार्यालयले आजबाट जग्गामा बाटो खोलेर प्लटिङ गर्ने कार्यलाई रोकेर घडेरीको रजिस्ट्रेसन पारित खुल्ला गरेको छ । कार्यालयका प्रमुख टङ्कप्रसाद उपाध्यायका अनुसार भरतपुर उपमहानगरपालिकाले धम्कीको शैलीमा पत्राचार गरेपछि कर्मचारीमा अन्योल पैदा हुँदा शुक्रबार कुनै काम हुन नसकेको भए पनि विभागमा सोको जानकारी गराएपछि विभागको निर्देशनअनुसार काम गर्न भनिएकाले आजबाट प्लटिङबाहेकका काम सुरु गरिएको बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय नगरपालिका व्यवस्था शाखाले यस असार मसान्तसम्म प्लटिङ कार्य रोक्न गरेको निर्णय भूमिसुधार तथा व्यवस्थापन विभाग र सम्बन्धित नगरपालिकालाई पठाएपछि विभाग र नगरपालिकाले सम्बन्धित मालपोत कार्यालयहरुलाई पत्राचार गरेका थिए ।

सहरी योजना एवम् भवन निर्माणसम्बन्धी मापदण्ड भवन संहिता तथा भवन निर्माण निर्देशिका एवम् यस सम्बन्धित नीति एवम् निर्माण पद्धति पुनरावलोकन गरेपछि मात्र प्लटिङ र निर्माणका कार्य गर्न निर्देशन दिइएको छ । पत्रमा “२०७२ असार मसान्तसम्मका लागि निजी तथा सार्वजनिक क्षेत्रबाट गरिने नयाँ संयुक्त आवास निर्माण तथा जग्गा विकास प्लटिङसम्बन्धी योजनाको स्वीकृति प्रक्रिया रोक्का गर्नु” भनिएको छ ।

आगामी आर्थिक वर्षदेखि घरघडेरी प्रयोजनका लागि जग्गा विकास स्वीकृति दिँदा प्लाटिङ हुने जग्गाभित्र तोकिएअनुसार सडक तथा घडेरी क्षेत्रफल मापदण्ड, सार्वजनिक पूर्वाधारहरु तथा खुला क्षेत्र हुनुपर्ने व्यवस्था हुने उल्लेख गरिएको छ । स्थानीय उपमहानगरपालिका र नगरपालिकाहरुले भूकम्प गएलगत्तै घरको नक्सा पास कार्य भने रोकेका थिए ।

पछिल्लो समय चितवनमा घरजग्गाको कारोबार बढ्दो क्रममा रहेको छ । यसैबीचमा प्लटिङ रोकिएपछि व्यवसायीमा अन्योल पैदा भएको छ । घरजग्गा व्यवसायी दिनेशकुमार चुकेले ठूलो प्लटिङलाई व्यवस्थित गर्नु स्वाभाविक भएको बताउनुभयो ।

प्रतिक्रिया