सर्लाही, ६ असार । विगत आठ वर्षदेखि कालोपत्र भत्केर जीर्ण बनेको सर्लाहीको नवलपुर–मलङ्गवा सडकखण्ड पुनःनिर्माणको प्रक्रिया सुरु भएको छ ।
भारत सरकारको सहयोगमा काम सुरु गरिसकेको भारतीय ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सन दुई वर्षअघि बीचैमा काम छाडेर भागेपछि नेपाल सरकार आफँैले उक्त सडकखण्ड पुनःनिर्माणको प्रक्रिया सुरु गरेको हो ।
आगामी असार १५ गतेभित्र सर्भे सम्पन्न गरी प्रतिवेदन पेस गर्ने गरी सडक विभागले सर्भे टोली खटाएको डिभिजन सडक कार्यालय मुझेलियाका इन्जिनियर रामविहारी चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार विभागले सात मिटर फराकिलो कालोपत्र बनाउने गरी सर्भेको काम सुरु गरेको हो ।
यसअघि कालोपत्र कम हुनेगरी भारतीय ठेकेदारले सर्भे गरेको हुनाले पुनः विभागले सर्भे गराउनुपरेको चौधरीले बताउनुभयो । असारभित्रै सडक पुनःनिर्माणका लागि ठेक्का लगाउन टेन्डर प्रकाशित गर्ने र भदौ असोजबाट काम नै सुरु हुने गरी विभागले तयारी गरेको छ ।
भारत सरकारको सहयोगमा भारतीय ठेकेदारले नै झन्डै साँढे तीन वर्षअघि काम सुरु गरे पनि बीचैमा काम छाडेर भागेको थियो । झन्डै आठ वर्षदेखि भत्केर जीर्ण बनेको पूर्व–पश्चिम राजमार्गबाट जिल्लाको सदरमुकाम जोड्ने एकमात्र मुख्य सडकखण्ड पुनःनिर्माण नहुँदा सवारी साधनले उडाउने धुलो तथा जीर्ण सडकको यात्राका कारण सर्वसाधारण मर्कामा परेका छन् ।
तराईको सुगम सडक भए पनि जीर्ण भएका कारण सार्वजनिक सवारी साधनलाई नवलपुरदेखि २५ किलोमिटर दूरीको मलङ्गवा पुग्न झन्डै डेढ घन्टा बढी तथा निजी सवारी साधनलाई एक घन्टा बढी समय लाग्ने गरेको छ ।
प्रतिक्रिया