प्यूठानका ११ वटा लघुजलविद्युत् आयोजनामध्ये नौ वटा बन्द

इनेप्लिज २०७२ जेठ २३ गते ४:४४ मा प्रकाशित

Pyuthan-district-locationप्यूठान, २३ जेठ । दुर्गम भेगका अध्यारा बस्तीमा उज्यालो पुर्‍याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् ।

स्थानीय तथा विभिन्न निकायको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजनामध्ये नौवटा आयोजना पूर्णरुपले बन्द भएका छन् । त्यस्तै प्राविधिक समस्याबीच सञ्चालनमा रहेको दुईवटा आयोजना आधा बन्द र आधा सञ्चालन हुने गरेको छ ।

“विद्युतिकरण नभएका र दुर्गमबस्तीका अध्यारा बस्तीमा लघुजलविद्युत् आयोजनाले धेरै सहयोग गरेका छन्” स्थानीय विकास अधिकारी शिवप्रसाद रेग्मीले भन्नुभयो, “अध्यारो बस्तीमा उज्यालो अभियानले दुर्गममा ठूलो सहयोग भएपनि अहिले अधिकांश प्राविधिक समस्याका कारण बन्द भएका छन् ।”

लघुजलविद्युत् प्राविधिक र स्थानीयको बेवास्थाका कारण बन्द भएको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा प्यूठानले जनाएको छ । त्यस्तै केही आयोजना सामान्य मर्मतपछि सञ्चालन गर्न सकिने भएपनि मर्मत गर्ने प्राविधिकको अभावले सञ्चालन नभएको शाखा प्रमुख मदन गोराथोकीले बताउनुभयो ।

जिल्लामा निर्माण भएका लघुजलविद्युत्मा अहिलेसम्म रु एक करोड ८६ लाख ७६ हजार ७५० लगानी भएको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ ।

जिल्लामा अहिले पूजा गाविसका खानिखोला लघुजलविद्युत् आयोजना र ध्वाँटेखोला लघुजलविद्युत् आयोजना पूर्णरुपले बन्द छ । त्यस्तै आयोजना निर्माण भएपछि नियमित्त प्राविधिक मर्मत गर्नुपर्ने भएपनि नगर्दा अहिले अर्खा गाविसका घट्टेखोला पहिलो तथा दोस्रो जलविद्युत् आयोजना, स्याउलिवाङ गाविसको पधेरीखोला जलविद्युत् आयोजना, सुसाउने खोला जलविद्युत आयोजना अर्खा–१ बन्द भएका छन् ।

सामान्य प्राविधिक मर्मत भए सञ्चालन गर्नसकिने ती आयोजना प्राविधिकका अभाव, निर्माण कम्पनी तथा स्थानीयको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको शाखा प्रमुख गोराथोकीको भनाइ छ ।

जिल्लामा सिरिङखोला जलविद्युत आयोजना रजवारा–३ खराखोला जलविद्युत आयोजना स्याउलिवाङ–७ र सरिमाखोला लघुजलविद्युत् आयोजना स्याउलिवाङ–१ अहिले संरक्षण हुन नसक्दा आंशिक बन्द भएको छ । ती आयोजनामा रु २० लाखदेखि रु ६० लाखसम्म लगानी भएका छन् ।

लघुजलविद्युत् आयोजनाबाट ११४ किलोवाट विद्युत् उत्पादन भएको छ । आयोजनाबाट दुर्गमका एक हजार २९९ घरधुरी लाभान्वित भएकोमा अहिले पुनः पुरानै अवस्थामा पुगेको छ । आयोजना बन्द हुँदा अध्यारा बस्तीहरु पुरानै अवस्था आएको भन्दै जिल्लास्तरबाट आयोजनाको पुनःमर्मतकार्यको पहल भएको जिविसले जनाएको छ ।

“बन्द भएका तथा प्राविधिक समस्या देखिएका लघुजलविद्युत् आयोजनाहरुको विस्तृत अध्ययन गरी पुनःनिर्माण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा सिफारिस पठाएका छौँ ।” स्थानीय विकास अधिकारी रेग्मीले भन्नुभयो, “लघुजलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गरी सुरु गर्न जिल्लाबाट केन्द्रमा सिफारिससहित स्थलगत अवलोकलनका लागि आग्रह गरेका छौँ ।”

प्रतिक्रिया