हात्ती धपाउन ट्र्याक्टरको प्रयोग

इनेप्लिज २०७२ जेठ १९ गते ४:५३ मा प्रकाशित

tractor_610418047काँकडभिट्टा (झापा), १९ जेठ । झापाको उत्तर पूर्वी बाहुनडाँगी गाविसका किसानले जङ्गली हात्ती धपाउन ट्र्याक्टर प्रयोग गर्ने जुक्ति निकालेका छन् ।

मेची सीमापारि भारतबाट हरेक साँझ नेपाल पस्ने हात्तीको बथानले खेतमा पाकिसकेको अन्न बाली मकै र धानसहित केरा, सुपारी, कटहरलगायत फलफूल खाएर सखाप पार्ने गरेको छ । दर्जनौँको सङ्ख्यामा हुल बाँधेर आउने हात्ती लखेटेर बाली जोगाउन पछिल्लो समयमा किसानले ट्र्याक्टर प्रयोगको जुक्ति निकालेकोे प्रकृति संरक्षण समाजका संस्थापक अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

साँझमा हात्ती आएको थाहा पाउनासाथ गाउँले ट्र्याक्टर चलाएर हात्ती तर्साउने गर्छन् । ट्र्याक्टरको चर्को आवाज सुनेपछि हात्ती भाग्ने गरेको कार्की बताउनुहुन्छ । ट्र्याक्टरको हेडलाइट बाल्दासमेत हात्ती भाग्ने गरेको छ । ३० हजार जनसङ्ख्या रहेको बाहुनडाँगी गाविस झापाको सर्वाधिक हात्तीपीडित क्षेत्र हो । भारतको आसामदेखिका हात्ती मेची तरेर यहीँ बाहुनडाँगी हुँदै नेपालमा पस्ने गरेका छन् ।

जेठ लागेपछि मकै र धान खान दिनहुँ हात्ती आउने गरेकाले स्थानीयवासीले मुख्य गौडामा ६ वटा ट्र्याक्टर हात्ती धपाउन प्रयोग गर्दै आएको बाहुनडाँगीका पत्रकार शिशिर चम्लागाईं बताउनुहुन्छ । हात्ती धपाउन प्रयोग हुने ट्र्याक्टरका लागि चाहिने इन्धन खर्च स्थानीय गाविसले दिने आश्वासन दिएको स्थानीयवासी बताउँछन् ।

यसअघि बाहुनडाँगीमा हात्ती धपाउन टुङ र सुरुङ बारको निर्माण र विद्युतीय तारको घेराबेरा गरिएको थियो । ती उपायले पनि हात्तीको आतङ्कमा कमी नभएपछि चिन्तित भएका किसानले पछिल्लो समयमा ट्र्याक्टर प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया