धनुषामा ध्वनि प्रदूषणको समस्या बढ्दो

इनेप्लिज २०७२ जेठ १८ गते १:१२ मा प्रकाशित

loudRPJHONL023021220141Z28Z32 AMजनकपुरधाम, १८ जेठ । बिहे, भण्डारा, व्रतबन्ध, सभा, धार्मिक पर्वलगायतका समयमा ठूलो ध्वनिमा विभिन्न गीत–सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ ।

बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा ट्र्याक्टर, ट्रक, ट्रली, स्कूल बस र विभिन्न चौकमा लगाइएको स्मारकमाथि रहेको घडी बाजाको ध्वनिले निन्द्रा नै खराब गर्ने गरेको नगरवासीको गुनासो छ ।

खासगरी गाडीमा प्रयोग हुने ठूलो आवाजको हर्नले कतिपय स्थितिमा शारीरिक क्षति र बहिरोसमेत बनाउने गरेको छ ।

यस्तो कार्यलाई जिल्ला प्रशासन कार्यालयले अविलम्ब रोक्नुपर्छ । विहान र दिनभरको ध्वनि प्रदूषणको कारण तनाव, झैँ–झगडा मानसिक विचलनलगायत समस्या हुने गरेको भन्दै रङ्गकर्मी तथा पत्रकार घनश्याम मिश्रले चेतनामूलक सडक नाटक तथा समाचार सङ्कलन गर्न जाँदा बढी आवाजमा बाजा बजाउँदा आफ्नो कार्य गर्न समस्या भएको बताउनुभयो ।

कार्यालयको समय सडकबाट जाने सवारीसाधनले ठूलो स्वरमा हर्न बजाउँदा दैनिक क्रियाकलापमा समस्या हुने गरेको कार्यालयका कर्मचारीको गुनासो रहेको छ । नगर क्षेत्रमा प्रहरीले सक्रियता नदेखाएकाले ध्वनि प्रदूषण बढ्न गएको छ । जसको कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको नगरवासीको गुनासो छ ।

संस्कृति र संस्कारको नाममा ठुलो स्वरमा माइक बजाएर ध्वनि प्रदूषण गर्नु भनेको जनचेतनाको अभाव हो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा भन्नुहुन्छ, “जबसम्म ध्वनि प्रदूषणबारे मानिसको स्वास्थ्यमा कस्तो असर पर्छ त्यसबारे जनचेतना जगाइदैन भने भविष्यमा यसले मानव स्वास्थ्यमा ठूलै असर पर्ने सम्भावना रहेको छ ।”

निश्चित दायराभित्र रहेर मात्र आवाज आउने गरी कार्य गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि विवाह, पूजा, भोजभतेर, प्रवचन, भजनकीर्तन गर्दा बजारभरिका पोलमा स्पिकर राखेर ध्वनि फैलाउने क्रियाकलाप बढेकाले यस्तो क्रियाकलापलाई स्थानीय प्रशासनले गम्भीरतापूर्वक लिनुपर्ने नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्वअध्यक्ष उमेश साहले बताउनुभयो ।

प्रतिक्रिया