सुरेन्द्र भण्डारी
सुरुङ्गा (झापा), १३ जेठ । देशभर सवारी दुर्घटना बढिरहेका बेला ट्र्याक्टरबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आजदेखि ‘ब्याकलाइट अभियान’ सुरु गरेको छ ।
अभियानअन्तर्गत ट्रलीजडित ट्र्याक्टरमा ब्याक्लाइट अनिवार्य हुनुपर्ने र त्यस्ता ट्र्याक्टरमात्र राजमार्गमा गुड्न पाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक रोशन आचार्यले जानकारी दिनुभयो ।
पूर्वाञ्चलमा नै पहिलोपटक यो अभियान सुरु गरिएको उहाँको भनाइ छ । एकसाता अघिदेखि अनौपचारिक रुपमा ट्र्याक्टरमा ब्याकलाइट जडान कार्य सुरु गरिएपनि आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीमा एक कार्यक्रमको आयोजना गरी यसको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी हबल्दार याम खड्काले बताउनुभयो ।
झापामा सवारी दुर्घटना गराउनमा ट्र्याक्टर मुख्य जिम्मेवार देखिएको जनाउँदै ट्र्याक्टरबाट हुने दुर्घटना घटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा लागिपरेको आचार्यको भनाइ छ । “ट्र्याक्टरको पछाडिको ट्रलीमा कुनै पनि लाइट नभएकाले राजमार्गका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा धेरैले ज्यान गुमाएकाले यो अभियान सुरु गरेका हौँं”–आचार्यले भन्नुभयो ।
पूर्वी नेपाल ट्र्याक्टर सङ्घ चारआलीको कार्यालयमा भएको कार्यक्रमबीच ट्राफिक प्रमुख आचार्यले १५ वटा ट्र्याक्टरमा जडान गरिएको ब्याकलाइटको एकैसाथ अनावरण गरेपछि अभियानको सुरुवात भएको छ ।
“ट्र्याक्टरको पछाडि कुनै साङ्केतिक बत्ती नभएका कारण धेरै दुर्घटना हुने भएकाले यो अभियानले दुर्घटना न्यूनीकरण गर्न ब्याक्लाइट सहयोगी बन्नेमा म आफू ढुक्क छु”– आचार्यले भन्नुभयो ।
यसरी सुरु भयो झापामा ‘ब्याक्लाइट’ जडान अभियान
झापामा नयाँ प्रहरी प्रमुख (एसपी) रवीन्द्रनाथ रेग्मीको फागुनमा आगमनसँगै उहाँको ध्यान दुर्घटना न्यूनीकरणमा केन्द्रित भयो । झापामा हुने गरेको सवारी दुर्घटनाको तथ्याङ्कको अध्ययनपछि उहाँले गत फागुनमा पत्रकारसँग कुराकानी गर्दै सवारी दुर्घटनामा कमी ल्याउन आफू लागिपर्ने बताउनुभएको थियो । उहाँले फागुनमा आयोजित पत्रकार सम्मेलनमा झापाको सवारी दुर्घटनाको अवस्था कहाली लाग्दो रहेछ भन्दै नयाँ योजनाका साथ आफू अघि बढ्ने बताउनुभएको थियो, जसअनुसार उहाँकै अगुवाइमा यो अभियान झापामा पहिलो पटक सुरु भएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, १०९ जना सवारी दुर्घटनामा परेर घाइते भएका छन् । हरेक महिना सवारी दुर्घटना बढ्दै गएकाले त्यसलाई घटाउन ट्र्याक्टरमा ब्याक्लाईट जडान अभियानले सहयोग पु¥याउने ठहर गर्दै यो अभियान झापाका प्रहरी उपरीक्षक रेग्मीको सहकार्यमा सुरु गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले बताउनुभयो ।
अभियान सफल बनाउन व्यवसायीको साथ
ट्राफिक प्रहरीले एक साताअगाडि झापामा पहिलो पटक मे १ त ४३३१ नम्बरको ट्र्याक्टरमा ब्याक्लाइट जडान गरेपछि यो अभियानमा सफल बनाउन व्यवसायी आफैंले साथ दिएका छन् । ट्राफिक प्रहरीले सबै ट्र्याक्टर व्यवसायी, ट्र्याक्टर चालक तथा मजदुरसँग अन्तरक्रिया कार्यक्रम पश्चात् स्वयम् ट्र्याक्टर व्यवसायीले नै यो अभियान राम्रो रहेको जनाउँदै साथ दिएका हुन् ।
ट्र्याक्टरको ट्रलीमा ब्याक्लाइट जडान गर्न व्यवसायी, चालक र मजदुर एकमत भएपछि यो अभियानले आजदेखि आँैपचारिकता पाएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टरका कारण चारजनाले ज्यान गुमाए
चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ट्र्याक्टरका कारण सातवटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा चार जनाको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त दुर्घटनामध्ये तीनवटा ट्र्याक्टरको पछाडिको ट्रलीमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको आचार्यको भनाई छ ।
ट्र्याक्टरको पछाडि कुनै साङ्केतिक बत्ती नहुनु तथा अँध्यारोमा ट्र्याक्टर सडक किनारमा रोकेर राख्नु जस्ता कारणले पनि अन्य सवारीसाधन ट्र्याक्टरको ट्रलीमा ठक्कर खाएर दुर्घटना भएका छन् –आचार्यले भन्नुभयो । सवारी दुर्घटना गराउने सवारीमध्ये सबैभन्दा बढी ट्र्याक्टर हुन्, यो अभियानले केही मात्रामा भए पनि सवारी दुर्घटनामा कमी आउने विश्वास हामीले लिएका छाँैं, आचार्यले भन्नुभयो ।
झापामा ट्र्याक्टरको सङ्ख्या बढेको बढ्यै
भन्सार छुट भएका कारण ट्र्याक्टर आयातमा सहज भएका कारण झापालगायत मेची अञ्चलमा ट्र्याक्टरको सङ्ख्या दिनानुदिन बढेको बढ्यैं छ ।
यातायात व्यवस्था कार्यालय मेचीको तथ्याङ्कअनुसार गतवर्ष मेची अञ्चलका चार जिल्लामा चार हजार ६०० ट्र्याक्टर दर्ता भएका थिए । गत वर्षको तथ्याङ्कलाई हेर्दा झापामा मात्रै करिब दुई हजारभन्दा बढी ट्र्याक्टर सञ्चालनमा आएका छन् । कृषि, औद्योगिकलगायत विभिन्न प्रयोजनका लागि ट्र्याक्टरको खरिद बढेकाले यसको सङ्ख्या बढेको ट्र्याक्टर व्यवसायीको भनाई छ ।
प्रतिक्रिया