नवलपरासी, १० जेठ । आज बिहान गएको पहिरोको कारण म्याग्दीको राम्चेमा कालीगण्डकी नदी थुनिएपछि गण्डक व्यारेजका सबै ढोका खोल्न भारत सरकार सहमत भएको छ ।
थुनिएको पानी आउँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै आवश्यकता अनुसार गण्डक व्यारेजका सबै ३६ ढोका खोल्न भारत सरकार सहमत भएपछि खुल्ला गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभएको छ ।
बन्द भएको बहाव एकै पटक खुलेको खण्डमा नारायणी नदीको बहावसमेत बढ्ने र यस आसपासका क्षेत्रमा क्षति पुग्ने सम्भावनालाई मध्यनजर गर्दै ब्यारेजका सबै ढोका खुल्ला गरिएको हो ।
कालीगण्डकी नदीको बहाव रोकिएपछि भारतको बिहार र उत्तर प्रदेश क्षेत्रमा पनि यसको असर पर्ने भन्दै प्रशासनले बिहान नै यसबारेमा भारतीय अधिकारीहरुलाई जानकारी गराएको थियो ।
व्यारेजको ढोका नखोल्दा ताल खोलिएर आएको पानी जम्मा भएर गण्डक बाँधलाई फुटाउने खतरा हुन्छ । नेपालको गण्डक व्यारेजदेखि पूर्वतिरको बस्तीमा प्रभाव पार्दछ ।
भारतीय पश्चिमी गण्डक व्यारेज २०३६ सालमा निर्माण गरिएको हो । भारत र नेपाल दुवैलाई गण्डक व्यारेज खोल्ने र बन्द गर्न समान अधिकार भए पनि भारतले एकलौटी रुपमा आÏनो अनुकुलता अनुसार व्यारेज खोल्ने र बन्द गर्ने गर्छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिका संयोजक हरिप्रसाद मैनालीले नवलपरासीमा पनि त्यसको जोखिम पर्नसक्ने भएकोले कालीगण्डकी नदी आसपासका पहाडी क्षेत्रका बासिन्दा र कालीगण्डकी नदी मिसिने नारायणी नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभएको छ ।
म्याग्दीमा नदी थुनिएपछि एक्कै पटक नदी फुटेको खण्डमा नवलपरासीको पहाडी क्षेत्रका बुलिङ्गटार, डेढगाउँ, कोटथरका साथै पहाडका सात गाविस र तराईका गैँडाकोट नगरपालिकादेखि कावासोती नगरपालिकाको पिठौली, त्रिवेणी सुस्ता, नर्सही, पक्लिहवा, कोल्हुवालगायत २० भन्दा बढी गाविस प्रभावित हुने देखिएको छ ।
अहिले गण्डक ब्यारेज आसपासका स्थानीयलाई सर्तक रहन आग्रह गर्दै माइकिङ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका अन्य जोखिममा रहेको स्थानमा समेत प्रहरी परिचालन गरी स्थानीयलाई सर्तक रहन आग्रह गरिएको छ ।
आज बिहान कावासोती नगरपालिका नदी किनारका स्थानीयलाई जोखिमको बारेमा जानकारी गराउँदै सर्तक रहन आग्रह गरिएको थियो ।
त्यसैगरी, प्रहरीले नवलपरासीको नारायणी नदी आसपासका क्षेत्र नदी किनारमा नबस्न र सतर्क रुपमा रहन आग्रह गर्दै माइकिङ गरेको थियो ।
यसैबीच, नदी थुनिएको स्थानमा पहिरो नाघी आज साँझ ५ बजेदेखि पानी आफैँ निकास भई सामान्यरुपमा बग्न थालेको समाचार प्राप्त भएको छ ।
प्रतिक्रिया