काठमाडौँमा संसदीय अनुगमन सुरु

इनेप्लिज २०७२ जेठ २ गते १०:४३ मा प्रकाशित

काठमाडौँ, २ जेठ । संसद्को राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको निर्णयअनुसार काठमाडौँमा खटिएको संसदीय समूहले आजदेखि अनुगमनको काम सुरु गर्दैछ ।

शुक्रबार सर्वदलीय र काठमाडौँका निर्वाचित एवम् समानुपातिक सभासद्सँग छलफल गरेको समूहले आज बिहान अर्थशास्त्री, योजनाविद् एवम् भूकम्पविद्सँग छलफल गरेको संसद् सचिवालयले जनाएको छ ।

काठमाडौँमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला, राप्रपाका महामन्त्री दीपक बोहरा र नेपाः राष्ट्रिय दलका लक्ष्मण राजवंशीसहितको चार जना सभासद् र संसद् सचिवालयका कर्मचारीको समूह सहभागी रहेको शाखा अधिकृत लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

आज काठमाडौँका १, २ र ३ नं क्षेत्रमा अनुगमन सम्पन्न गरिने कार्यक्रम रहेको अर्यालले बताउनुभयो । समूहलाई राहत सामग्री सही ढङ्गले वितरण भए नभएको र भूकम्पपीडितले राहत सामग्रीलगायत राज्यका तर्फबाट पाउनुपर्ने सेवा–सुविधा पाए नपाएको सम्बन्धमा अनुगमन गरी समितिमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

जेठ १ गतेदेखि भूकम्पबाट अति प्रभावित १४ जिल्लामा बिहीबारको समिति बैठकले चार जना सभासद् र संसद् सचिवालयका कर्मचारीसहितको समूह अनुगमनका लागि खटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया