इलाम नगरपालिकाका असी घर बस्न अयोग्य

इनेप्लिज २०७२ वैशाख ३० गते ९:५१ मा प्रकाशित

ilam_nepal_mapइलाम, ३० वैशाख । वैशाख १२ र २९ गते दिउँसो गएको विनाशकारी भूकम्पका कारण इलाम नगरपालिकाका ८० वटा घर बस्न अयोग्य भएका छन् ।

नगरपालिकाको प्राविधिक टोलीले गरेको अध्ययनअनुसार ८० घरमध्ये ४९ घर पूरै भत्काएर नयाँ बनाउनुपर्ने, ३१ मा सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेको जनाइएको छ ।

प्राविधिक टोलीको प्रतिवेदनमा वडा नं १ मा तीन, वडा नं २ मा ६, वडा नं ३ मा १९, वडा नं ४ मा आठ, वडा नं ५ मा आठ, वडा नं ६ मा १०, वडा नं ७ मा १३, वडा नं ८ मा सात र वडा नं नौ मा ६ वटा घर बस्न अयोग्य रहेको उल्लेख छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका इन्जिनियर भूपाल आले, इलाम नगरपालिकाका इन्जिनियरद्वय दीपकप्रसाद गुरागार्इं र भीमसेन श्रेष्ठ, सबइन्जिनियरद्वय राधाकृष्ण घिमिरे र मेघनाथ ढुङ्गानासमेत रहेको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी सो प्रतिवेदन तयार गरेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताएका छन् ।

मङ्गलवार दिउँसो गएको भूकम्पले क्षतिको विवरण थप बढ्ने इलाम नगरपालिकाले जनाएको छ । सोको प्राविधिक जाँचका लागि पुनः प्राविधिक टोली सक्रिय रहने साथै गारोवाला घरमा घरको कुनै कुनामा भूइँदेखि छत वा छानासम्म राम्ररी चेकजाँचका लागि सहयोग गर्न इनपाले अनुरोध गरेको छ । प्राविधिकले खतरापूर्ण अवस्थाका घर उल्लेख गरेमा त्यस्ता घरमा नबस्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।

निजी विद्यालय तीन दिन बन्द

निजी तथा आवासीय विद्यालय अर्गनाजेसन (प्याब्सन) इलामअन्तर्गका विद्यालय तीन दिन बन्द भएका छन् ।

बारम्बार गएको भूकम्पका कारण प्याब्सनले आजदेखि विद्यालय बन्द गरेको हो । विनाशकारी भूकम्पको त्रासका कारण अभिभावकमा त्रासदी बढेकाले विद्यालय बन्द गर्नुपरेको प्याब्सन उपाध्यक्ष विकास कर्माचार्यले बताउनुभयो ।

मङ्गलबार दिउँसो गएको भूकम्पका कारण विद्यालयमा विद्यार्थी र शिक्षकमा भागदौड मच्चिए पनि कोही घाइते र विद्यालयमा भौतिक क्षति नभएको प्याब्सनले जनाएको छ । बन्द विद्यालय आइतबारदेखि खुल्ने प्याब्सनले जनाएको छ ।

प्रतिक्रिया