भक्तपुर, ३० वैशाख । मङ्गलबार आएको भूकम्पका कारण भक्तपुरमा दुई जनाको मृत्यु भएको छ भने २५० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अनन्तलिङ्गेश्वर नगरपालिका बालकोट बस्ने ७४ वर्षीय दुर्गाप्रसाद भट्टराई र मध्यपुरथिमि नगरपालिका–१ बोडे बस्ने ४२ वर्षीय श्यामसुन्दर जयना श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
भूकम्प आएलगत्तै दुवैलाई हृदयाघात भएपछि भट्टराईलाई मीनभवनस्थित निजामति अस्पतालमा उपचारका क्रममा र श्रेष्ठको गङ्गालाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भत्किएका घरबाट पुरिएर मृत्यु भएका वा हराइरहेका बारे भने खबर अझै नआएको उहाँले बताउनुभयो ।
भूकम्पबाट भक्तपुरमा २५० जना घाइते भएका छन् । घाइतेमध्ये २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २१४ जना उपचारपछि घर फर्किएका छन् ।
त्यसैगरी, भक्तपुरमा मङ्गलबारको भूकम्पमा भत्किएका घर पन्छाउने र खोजी तथा उद्धार कार्य सुरक्षाकर्मीले आज बिहानदेखि सुरु गरेका छन् । भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रमा भत्किएका घर पन्छाउने र अवरुद्ध सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली विभिन्न ठाउँमा खटिएका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया