काठमाडौँ, १४ वैशाख । प्रि–मनसुनसँगै स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
खासगरी पहाडी भेगमा मेघ गर्जनसहित साँझपख अझै तीनदिनसम्म निरन्तर वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
दिउँसो मौसममा केही सुधार आउने र साँझमा एक/दुई घन्टा पुनः वर्षा हुने उहाँले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्म ४.५ मिलिमिटर वर्षा भएको छ ।
मौसमविद् पौडेलले प्रिमनसुनको समय भएकाले वर्षा हुने सामान्य र नियमित प्रक्रिया भएको र भूकम्पसँग यसले कुनै सरोकार नराख्ने भएकाले पानी पर्दैमा नआत्तित सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
भूकम्पका कारण राजधानी उपत्यकाका तीनवटै जिल्लामा खुला स्थानमा बसेका सर्वसाधारणलाई आइतबार साँझ परेको झरीले निकै सास्ती दिएर त्रासदीपूर्ण वातावरण सिर्जना गरेको थियो ।
ठूलो समूहमा पालमुनि बसेका सर्वसाधारणलाई पानीले निकै सास्ती दिएको थियो । आज पनि अधिकांश सर्वसाधारण भूकम्पको त्रासले खुला स्थानमा बसिरहेकाले पानी परेमा निकै सास्ती व्यहोर्नुपर्नेछ ।
प्रतिक्रिया