काठमाडौँ, ४ वैशाख । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आगामी बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा हुने एसियाली–अफ्रिकी मन्त्रीस्तरीय बैठकमा भाग लिन भोलि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
त्यसअघि हुने वरिष्ठ अधिकारीका बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी आजै इन्डोनेसिया प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जकार्तामा रहँदा परराष्ट्रमन्त्रीले छिमेकी मुलुकका आफ्ना समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ वार्षिकोत्सव तथा एसियाली–अफ्रिकी रणनीतिक सहकार्य विषयक सम्मेलन आगामी शुक्रबार इन्डोनेसियाको बाङडुङमा हुनेछ । सो सम्मेलनमा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने कार्यक्रम रहेको सो मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया