मैलुङ–स्याफ्रुवेँसी सडक निर्माण तीव्र

इनेप्लिज २०७१ चैत २९ गते ४:२५ मा प्रकाशित

धुन्चे (रसुवा), २८ चैत । स्याफ्रुबेँसी–मैलुङ खण्डको सडक निर्माण तीव्र रुपमा अगाडि बढेको छ ।

रसुवाको स्याफ्रु गाविस–४ छोकलबाट निर्माण सुरु भएको स्याफ्रुबेंसी–मैलुङ खण्डको १८ किमी सडकमध्ये सात किमी दोहोरो मार्ग निर्माण गर्न नेपाली सेनाले कार्य आदेश पाएको छ । गत माघ ९ गतेदेखि सुरु भएको काम तीव्र रुपमा अगाडि बढाउन फागुन ३ गतेदेखि पूर्ण रुपमा नेपाली सेना परिचालन भई सबै रेखाङ्कन र खन्ने काम एकसाथ अगाडि बढिरहेको प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिनुभयो ।

हाल सम्म ५०० मि एकतर्फी मार्ग खोल्ने काम भइसकेको छ । पहिलो चरणमा पूरै भाग एकतर्फी खोली हिँड्न सहज भएपछि दोस्रो चरणमा दोहोरो ट्रयाक खोल्ने कार्य अगाडि बढाइने सेनानी केसीले बताउनुभयो । निर्माणस्थलमा ७० नेपाली सेना र ७० अन्य कामदारल अहोरात्र खटिइरहेका छन् ।
यन्त्रबाट प्वाल खोप्ने काम भइरहेको छ । आागमी वैशाख २ गतेदेखि ठूला ढुङ्गा फुटाउन विस्फोटक पदार्थ प्रयोग हुने पनि उहाँले जानकारी दिनुभयो । सर्वसाधारण कामदारको सङ्ख्या क्रमशः बढाइने जनाइएको छ ।

नदी किनारबाट सडक खुलेपछि हालभन्दा २० किमी दूरी छोटो भई गल्छीदेखि रसुवागढीसम्मको सडक दूरी करिब ७८ किमी रहने बताइएको छ । हाल हाल गल्छी–रसुवागढीमार्ग ९८ किमि छ । हाल बेत्रावती–कालिकास्थान–धुन्चे–छोकल ५२ किमी भएकामा सो मार्ग बनेपछि बेत्रावती–पैरेबेंसी–मैलुङ–हाकु–छोकल ३२ किमी बाटो बनी २० किमी छोटिने भएको छ ।

नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भौगोलिक विकटता रहेको सो क्षेत्रमा आफ्नो ब्यारेक खडा गरी इमान्दारपूर्वक नेपाली सेनाले सडक खन्ने कार्य गरिरहेको पाइएको र लक्षित समयमै गुणस्तरीय निर्माण पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

गल्छीदेखि रसुवागढीसम्म नदी किनारबाट व्यापारिक नाकाका रुपमा विकसित गर्न लागिएको स्याफ्रुबेँसी–मैलुङ १८ किमी सडकमध्ये मैलुङदेखि माथि ११ किमी सडक निर्माणको काम माथिल्लो त्रिशूली– एक २१६ मेगावाटको जलविद्युत् कम्पनी ‘नेपाल वाटर पावर इनर्जी डेभलपमेन्ट कं’ले गर्ने छ । कम्पनीबाट हालसम्म पाँच किमी मार्ग खोल्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।
दुई वर्षअघि निर्माण भइसकेको रसुवागढी–स्याफ्रुबेंसी–गल्छी सडकले चीन र नेपाल हुँदै भारतसम्मको व्यापारलाई सहज बनाउने छ । चीनले उत्तरी नाकाका रुपमा रहेको केरुङ नाका गत मङ्सिर १५ गते खोलेपछि नेपाल–चीनबीच आयात निर्यात भइरहेको छ ।

प्रतिक्रिया