संविधानसभा सदस्य उपनिर्वाचनः मतगणना केही बेरमा

इनेप्लिज २०७१ चैत २९ गते २:४९ मा प्रकाशित

Baglung-election1

बागलुङ, २९ चैत । बागलुङ क्षेत्र नं १ मा शनिबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा ७३ प्रतिशत मत खसेको छ ।

कुल ५२ हजार २०२ मतदातामध्ये करिब ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गए राति १२ बजेभित्र सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम आइसकेको छ ।

आज बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताउनुभयो । “बिहान नै सर्वदलीय बैठक बस्छ, त्यसपछि आचारसंहिता बनाउने, मुचुल्का उठाउनेलगायत काम गरेपछि तत्काल मतगणना सुरु हुन्छ, गणना सुरु भएको चार÷पाँच घन्टामा परिणाम सार्वजनिक हुन्छ,” उहाँले भन्नुभयो ।

मतदान स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उहाँको भनाइ छ । अधिकृत उपाध्यायले केही ठाउँमा सामान्य विवाद भए पनि कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयो ।

उन्नाइस गाविस र एक नगरपालिकाका ३५ मतदानस्थलमा रहेका ७० मतदान केन्द्रमा मतदान भएको थियो । राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन् ।

यसअघिको संविधानसभा निर्वाचनमा विजयी नेपाली काँग्रेसका सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी, नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य मनाकुमारी केसी, एकीकृत नेकपा (माओवादी)का कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाका नेत्रबहादुर बुढाथोकी, राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवार नवीनचन्द्र गर्वुजा मगर र नेपाल परिवार दलका बाबुराम शर्मा उम्मेदवार रहनुभएको छ ।

यस्तै नेकपा (माले)का कुलबहादुर किसान, सङ्घीय समाजवादी पार्टीका रेशम थापा मगर, राष्ट्रवादी एकता पार्टीका क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुन उम्मदेवार रहनुभएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त रहनुभएको छ ।

गत निर्वाचनमा काँग्रेसका खड्का १३ हजार ५०० मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३, एमाओवादीका कृष्ण केसीले छ हजार ३ र राष्ट्रिय जनमोर्चाका तीर्थसिंह थापाले दुई हजार १५९ मत ल्याउनुभएको थियो । रासस

प्रतिक्रिया