आम हडतालमा बागलुङ खुलै

इनेप्लिज २०७१ चैत २४ गते १०:२६ मा प्रकाशित

Baglung_district_locationबागलुङ, २४ चैत । एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले गरेको आम हडतालको प्रभाव बागलुङमा परेको छैन । आम हडतालले देशभरको जनजीवन प्रभावित भइरहेका बेला बागलुङ जिल्ला भने सामान्य अवस्थामै छ ।

आउँदो चैत २८ गते बागलुङ क्षेत्र नं १ मा संविधानसभा सदस्य उपनिर्वाचन हुन लागेकाले मोर्चाले कुनै आन्दोलनका कार्यक्रम गरेको छैन । औपचारिक रुपमा आम हडताल नगर्ने निर्णय नभए पनि कुनै अवरोध नगरी बन्द खुकुलो पारिएको एमाओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

बन्दका कारण जिल्लाबाट राजधानीलगायत देशका विभिन्न भागमा छुट्ने लामो दूरीका सवारी साधन भने चल्न सकेका छैनन् । सदरमुकाम र ग्रामीण क्षेत्रका सडकमा सवारी निर्वाध रुपमा चलिरहेका छन् ।

शैक्षिक संस्था, कार्यालय, पसल र व्यवसाय पनि खुलेका छन् । जिल्लामा बसेको सर्वपक्षीय बैठकले पनि निर्वाचनको अवधिमा कुनै बन्द हडतालका कार्यक्रम नगर्न मोर्चालाई लिखित अनुरोध गरेको थियो ।

उपनिर्वाचनमा भाग लिने दल अन्तिम प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन अभियान र घरदैलोलाई सदरमुकाम केन्द्रित गरिएको छ । बिहीबारदेखि शून्य समय सुरु हुने भएपछि प्रचारप्रसारलाई दलहरुले तीव्र पारेका छन् ।

बागलुङ जिल्लामा आम हडतालको कुनै प्रभाव नपरे पनि छिमेकी जिल्ला पर्वत र म्याग्दीमा भने बन्दको प्रभाव परेको जनाइएको छ ।

प्रतिक्रिया