प्रवेशिका परीक्षा सकिएलगत्तै अधिकांश युवा कामको खोजीमा भारत हिँड्न थाले

इनेप्लिज २०७१ चैत १८ गते २:५१ मा प्रकाशित

forign-migration-employmentअछाम, १८ चैत । प्रवेशिका परीक्षा दिएपछि अछामका अधिकाश युवा कामको खोजीमा भारत हिँड्न थालेका छन् ।

परीक्षापछि गाउँमा कुनै काम नभएको र पढाइलेखाइसमेत नहुने भएकाले कामको खोजीमा भारत हिँडेको जिल्लाको मङ्गलसेन नगरपालिकाका कमल भण्डारीले बताउनुभयो ।

जिल्लामा सञ्चालन भएको प्रवेशिका परीक्षा सम्पन्न भएको अर्को दिनबाट लगातार दिनमा ३० देखि ४० जनाको सङ्ख्यामा विद्यार्थी भारत जानेगर्नाले बसमा समेत यात्रुको घुइँचो हुने गरेको सुदूरपश्चिम यातायात व्यवसायी समिति अछाम काउन्टरका संयोजक राजेशबाबु बोगटीले बताउनुभयो ।

परीक्षा दिएर कामको खोजीका लागि भारत हिँडेका अधिकांश विद्यार्थी अनुत्र्तीण भएमा उतै बस्ने र पछिल्लो वर्षको परीक्षामा कमै समावेश हुने गरेको जिल्ला शिक्षा कार्यालय अछामका परीक्षा फाँटका प्रमुख दानबहादुर विष्टले बताउनुभयो ।

यस वर्ष अछामबाट प्रवेशिका परीक्षामा नियमिततर्फ चार हजार ३८ र आंशिकतर्फ तीन हजार ५२२ गरी सात हजार ६६० विद्यार्थी परीक्षामा सम्मिलित भएका बताइएको छ ।

प्रतिक्रिया