गैँडाको आक्रमणले महिलाको मृत्यु

इनेप्लिज २०७१ चैत १६ गते ११:०९ मा प्रकाशित

rhinoहेटौँडा १६ चैत । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले हेटौँडा उपनगरपालिका–६ चौघडाको रानीवनमा घाँस काट्न हिँडेकी एक महिलालाई आक्रमण गर्दा आज बिहान मृत्यु भएको छ ।

गैँडाको आक्रमणबाट मृत्यु हुने महिला हेटौँडा उपनगरपालिका–६ निवासी ६१ वर्षीया हरिमाया दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो गैँडाले हेटौँडा नगरको विभिन्न स्थानका सडकमा भागदौड गर्ने क्रममा आक्रमण गर्दा छजना मानिस घाइते भएका छन् ।

ती घाइतेमध्ये हेटौँडाको चौघडा बस्ने रुपनारायण धिमालको थप उपचारका लागि चितवनको भरतपुर शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

अन्य पाँच जना घाइतेको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

हेटौँडा उपनगरपालिका–९ लामसुरे डाँडामा आज बिहान ७ बजे देखापरेको सो गैँडाले हेटौँडा औद्योगिक क्षेत्र हुँदै पूर्वक्षेत्रको कमाने–नागस्वती, गौरीटार, चौघडा, पिप्ले, कान्ति राजपथ, बुद्धचोक एवम् हेटौँडा अस्पताल परिसर गरी करिब १८ किमी भागदौड गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो गैँडा अहिले हेटौँडा अस्पताल परिसरबाट निस्केर बसपार्क हुँदै सामुदायिक आँखा अस्पताल परिसरमा पसेको बताइएको छ ।

यसैबीच चितवन वन्यजन्तु आरक्षणबाट हात्तीसहितको चिकित्सक टोली हेटौँडातर्फ आइरहेको र सो टोलीले गैँडालाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पठाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले बताउनुभयो ।

प्रतिक्रिया