कुमाल: माटो छैन, दाउरा पनि

इनेप्लिज २०७१ चैत १३ गते ६:१५ मा प्रकाशित

seramix-660x330काँकडभिट्टा (झापा), १३ चैत । यहाँका कुमाल समुदायको भाँडा बनाउने पेसा कच्चा पदार्थको अभावमा सङ्कटमा परेको छ ।

कुमाल समुदायको जीविकोपार्जनको आयस्रोत नै भाँडा बनाउने हो । माटो र दाउरा नपाउँदा सो समुदाय मर्कामा परेको छ ।

झापा डाँगीबारीमा ४० घर परिवार कुमाल समुदायको बस्ती छ । स्थानीयवासी बास्कीनाथ पण्डितले राम्रो माटो इँटा व्यवसायीले चलाइदिनाले र महँगी बढ्दै गएकाले आफूहरू मारमा परेको बताउनुभयो । प्लास्टिक, सिलावर र स्टिलका सामानको बढ्दो प्रयोगले पनि व्यवसाय सङ्कटमा परेको उहाँको भनाइ छ ।

डाँगीबारीका कुमालले झापाकै बाह्रदशी भन्ने स्थानबाट माटो ल्याउने गरेका छन् । एक ट्रिप माटाकोे उनीहरूले रु आठ हजार तिर्नुपर्छ । “खानै समस्या हुनेले कसरी यत्रो पैसा जुटाउने ?” तीन छोरा, बुहारी र तीन नाति नातिनीकी आमा बिजुलीले भन्नुभयो । पन्ध्र वर्षका उमेरदेखि सो पेसा सुरु गरेको बताउँदै उहाँले अहिले यसबाट फाइदा हुँदैन भन्नुभयो । उहाँले मासिक रु छ हजारदेखि आठ हजारसम्म कमाइ भए पनि माटो र दाउरा किन्दा नै पैसा सकिने गुनासो गर्नुभयो ।

“माटो ल्याउने ठाउँको जग्गा कसैको नम्बरी पर्‍यो अरे, माटो किन्नुपर्छ ।” स्थानीयवासी लक्ष्मण पण्डितले भन्नुभयो “महँगोमा माटो किनेर भाँडा बनाउने पैसा हामीसँग हुँदैन ।”

व्यवसायको अर्को ठूलो कठिनाइ दाउरा अभाव हो । प्रतिक्विन्टल रु एक हजारमा उनीहरूले दाउरा खरिद गर्ने गरेका छन् । करिब २५ किमी उत्तरतर्फको दहीझोडा जङ्गलबाट दाउरा ल्याउनुपर्ने उनीहरूको बाध्यता छ ।

भाँडा बनाउन लेस्याइलो माटो चाहिने बताउँदै उनीहरूले जहाँसुकैको माटो प्रयोग गर्न नसकिने बताए । कच्चा माटोको भाँडा बनाइसकेपछि त्यसलाई भट्टीमा राखेर पोल्नुपर्छ । उनीहरूले सुराही, घ्याम्पा, गमला, धुपौरो, पाला, खुत्रुके, गाग्रो, भिउँट, आरीलगायत सामान माटाबाट बनाउने गरेका छन् ।

अझैसम्म मोरङदेखि पाँचथरसम्मका मानिस भाँडा लिन कुमाल बस्ती नै पुग्ने गरेका छन् । माटो र दाउरा सहज रूपले पाउने हो भने प्लास्टिकका भाँडासँग प्रतिस्पर्धा गर्न सकिने उनीहरूको भनाइ छ । उनीहरुले मागअनुसार माटोको भाँडा उत्पादन गर्न नसकेको बताए ।

प्रतिक्रिया