जात्राका लागि मूर्तिका शृङ्गार

इनेप्लिज २०७१ चैत १२ गते १:२८ मा प्रकाशित

murtiकाठमाडौँ, १२ चैत । काठमाडौँको दक्षिणभेग चोभारस्थित आदिनाथ मन्दिरमा रहेको मूर्तिलाई शृृङ्गार गरिएको छ ।

प्रत्येक वर्ष चैतशुक्ल अष्टमीका दिन गरिने विशेष जात्राका लागि सो मूर्तिलाई मन्दिरबाट निकालेर महास्नान गराउने तथा गरगहना, अलङ्कार परिवर्तनका साथै रङरोगन गर्ने परम्परा छ ।

यसरी शृङ्गार गरिएको मूर्तिलाई मूल पूजारी तथा स्थानीयवासी र भक्तजनको सहभागितामा खटजात्रा गरी देवतालाई विभिन्न सांस्कृतिक बाजागाजासहित स्थानीय गाउँ तथा टोलमा घुमाएर सबैलाई दर्शन गराइन्छ ।

यसअघि चैतशुक्ल प्रतिपदाका दिन मूर्तिलाई मन्दिरबाट बाहिर निकालेर महास्नान गराइएको थियो । त्यसपछि मूर्तिलाई मन्दिरको आँगनमै राखिएको छ । मन्दिरमा अहिले मूर्तिको सट्टामा कलश राखी जीवविन्यास गरिएकाले भक्तजनले कलशलाई नै पूजा गर्ने गरेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न चार लोकेश्वरमध्ये आदिनाथलाई महत्वपूर्ण मानिन्छ । मूर्तिमा आदि शिव तथा आदि पार्वतीको रुप प्रतिविम्बित भएकाले सो देवतालाई आदिनाथ ( अर्धनारीश्वर) भनिएको पूजारी सरोज शाक्यले जानकारी दिनुभयो ।

आदिनाथलाई हिन्दूले शिवशक्ति तथा बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा पूजा गर्ने प्रचलन छ ।

प्राचीन समयमा नख्खु दोभानमा फेला पारिएको सो मूर्तिलाई चोभार डाँडामा प्रतिस्थापन गरिएपछि स्थानीयवासीलाई रोगव्याधी तथा भयबाट मुक्ति मिलेको स्थानीयवासी राधाकृष्ण थापाले बताउनुभयो । मूर्ति कहिले स्थापना गरिएको हो भन्नेबारेमा स्थानीयवासी अनभिज्ञ छन् ।

प्राचीनकालदेखि नै यस्तो जात्रा चैतमा तथा विशेषगरी आश्विन शुक्लपूर्णिमादेखि कात्तिक शुक्लपूर्णिमासम्म मेला लाग्ने बताइएको छ ।

प्रतिक्रिया