बलात्कारका घटनालाई रोक्न राज्यका सबै अङ्ग परिचालित हुनुपर्ने

इनेप्लिज २०७१ चैत ११ गते ५:३८ मा प्रकाशित

rape4तुलसीपुर (दाङ), ११ चैत । दाङमा यस आवको हालसम्ममा १५ वटा बलात्कारसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले बलात्कार नियन्त्रण अभियानअन्तर्गत हिजो घोराहीमा आयोजित जिल्लास्तरीय कार्यशाला एवम् अन्तक्र्रियामा प्रहरी उपरीक्षक खिनुप्रसाद आचार्यले सो सङ्ख्यामा मुद्दा दर्ता भएको जानकारी गराउनुभएको हो ।

तीमध्ये १४ थान मुद्दाको अनुसन्धान सकेर अदालतमा बुझाइएको र एउटा मुद्दाको अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।

त्यस्तै सो अवधिमा बलात्कारको उद्योगमा छ वटा मुद्दा दर्ता भएको छ । बलात्कारका घटनामध्ये ललाइफकाइमा सात, सामूहिकमा दुई र डर धम्की देखाएर छ वटा घटना घटेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

आधुनिक प्रविधिको गलत प्रयोग, अपराध मनोवृत्ति, कानुनी ज्ञानको अभाव, ललाइफकाई, डर देखाएर र चेतना कमीका कारण बलात्कारको घटना हुने गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

साथै पीडकले सूचना नदिनु, आर्थिक प्रलोभनमा पीडित पर्नु, राजनीतिक दबाबलगायतका कारण बलात्कारको घटना नियन्त्रणमा चुनौती थपिएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बलात्कारका घटनालाई रोक्न राज्यका सबै अङ्ग परिचालित हुनुपर्ने बताउँदै घटना हुनै नदिन सचेतना जगाउनुपर्दछ भन्नुभयो ।

अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेयले बलात्कारका घटनालाई नियन्त्रण गर्न सबै क्षेत्रबाट नागरिकमा जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया