बलात्कारका अभियुक्त पक्राउ

इनेप्लिज २०७१ चैत ८ गते २:५७ मा प्रकाशित

pakraauधादिङ, ८ चैत । दक्षिणी धादिङको महादेवस्थान गाविस वडा नं ८ जरुङका एक युवक बालिका बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका छन् ।

बाख्रा चराउन गएकी बालिकालाई ललाइफकाई बलात्कार गरी फरार भएका २४ वर्षीय बलबहादुर तामाङलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

पीडित बालिकाले घटना भएपछि आमालाई खबर गरेकी थिइन् । घाइते बालिकाको प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । अभियुक्तलाई प्रारम्भिक अनुसन्धानपछि जबर्जस्ती करणी मुद्दा चलाइने बताइएको छ ।

पौडी खेल्ने क्रममा मृत्यु

साथीसँग पौडी खेल्न थोपल खोलामा गएका १५ वर्षीय पवन अधिकारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनी डुबेपछि पौडी खेल्न गएका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । धादिङ बोर्डिङमा कक्षा ९ मा अध्ययनत अधिकारी बिदाको दिन साथीसँग पौडी खेल्न गएका थिए । सोही क्षेत्रमा गत वर्ष पनि पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको थियो ।

यसैक्रममा जिल्ला प्रशासन कार्यलयले आफ्ना छोराछोरीलाई खोलामा पौडी खेल्न जान नदिनका लागि अभिभावकलाई अनुरोध गरेको छ । गर्मी बढेसँगै बालबालिका खोलामा पौडी खेल्न जाँदा दुःखद घटना हुने भएकाले सजग रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया