स्वास्थ्य चौकीमा औषधि अभाव

इनेप्लिज २०७१ चैत ६ गते ५:२९ मा प्रकाशित

medicineप्यूठान, ६,चैत । तोरवाङ–९ नेटाकी स्वास्थ्य स्वयमसेविका कमला भट्टराईले गाँउघरमा झाडापखाला लाग्दा वितरण गर्ने जिङ्क चक्की नदेखेको छ महिनाभन्दा धेरै भयो ।

यहाँका स्वास्थ्य चौकीमा पनि सामान्य झाडापखाला लाग्दाको औषधि समेत छैन् । “स्थानीय सञ्चारमाध्मले दैनिकजसो जिङ्क चक्की स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ भन्छ” स्वास्थ्य स्वयम्सेविका भट्टराईले भन्नुभयो, “सरकारले निःशुल्क दिन्छौँ भनेको सामान्य झाडापखालाको औषधि समेत पाएका छैनौँ ।”

तोरवाङ स्वास्थ्य चौकीमा मात्रै होइन, यस्तै समस्या बाँदीकोट गाविसको स्वास्थ्य चौकीमा वर्षौंदेखि छ । बाँदीकोट स्वास्थ्य चौकीका प्रमुख मानबहादुर महतराले भन्नुभयो, “दाँत दुख्दा राख्ने क्लोभाइल औषधि भएपनि यहाँ धेरै माग हुन्छ तर हामीसँग उपलब्ध छैन् ।”

सामान्य तर अतिआवश्यक औषधिको अभाव हुँदा बेलबास गाविसमा रहेको स्वास्थ्य चौकीले गाविस अनुदानवाट औषधि खुवाउने नयाँ नीतिको सुरु गरेको छ ।

“सरकारले उपलब्ध गराउने सबै खाले औषधि यहाँ नआउने भएपछि हामीले अनुदानको औषधि वितरण गर्ने गरेका छौँ ।” स्वास्थ्य चौँकी व्यवस्थापन समिति अध्यक्ष तथा गाविस सचिव हिमलाल पोख्रेलले भन्नुभयो, “जिल्लामै निःशुल्क उपलब्ध भनिएको औषधि स्वास्थ्य चौकीसम्म आउँदैन ।”

प्यूठानको स्वास्थ्य अधिल्लो वर्ष नेपालकै १५ औँ स्थानमा रहेकोमा यस पटक खस्किएर २१ औँ स्थानमा पुगेको छ । त्यस्तै दुर्गमका क्षेत्रमा अझैपनि स्वास्थ्य सुधारका लागि भन्दै निःशुल्क औषधि र उपकरण नपुग्दा यस क्षेत्रका वासिन्दा थप समस्यामा परेका छन् ।

प्रतिक्रिया