चिट चोराउन सहयोग गर्ने पाँच निरीक्षक निष्काशित

इनेप्लिज २०७१ चैत ५ गते १०:५२ मा प्रकाशित

slcलहान, ५ चैत । एसएलसी परीक्षाको पहिलो दिन आज परीक्षामा विद्यार्थीलाई चिट चोराउन सहयोग गरेका पाँचजना निरीक्षकलाई परीक्षा अनुगमन समितिले परीक्षा केन्द्रबाट निष्काशन गरेको छ ।

परीक्षामा विद्यार्थीलाई चिट चोराउन सहयोग गरेको भन्दै टोलीले सगरमाथा परीक्षा केन्द्र मिर्चैयाबाट रामदेव साह, पड्रिया परीक्षा केन्द्रबाट रामप्रसाद पोखरेल, बर्छबा परीक्षा केन्द्रबाट दीपेन्द्रकुमार साह, कल्याणपुर परीक्षा केन्द्रबाट रञ्जितकुमार यादव र लिटिल स्टार स्कुल परीक्षा केन्द्रबाट विनोदकुमार रामलाई निरीक्षकबाट निष्काशन गरेको सिरहाका जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले जानकारी दिनुभयो ।

यसबाहेक आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा जिल्लाभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिशिअ कटुवालले बताउनुभयो ।

एसएलसी परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्थानीय विकास अधिकारीलगायतका कार्यालय प्रमुखहरुको नेतृत्वमा छुट्टाछुट्टै परीक्षा अनुगमन समिति बनाएर जिल्लाभरि परीक्षाको अनुगमन गरिरहेको जिशिअ कटुवालले बताउनुभयो ।

प्रतिक्रिया