बेनी (म्याग्दी), २५ फागुन । म्याग्दीमा सुधारिएको चुलो बनाउने लहर चलेको छ ।
सुधारिएको चुलोमा खाना पकाउँदा परम्परागत चुलोको दाँजोमा दाउरा र धुवाँ कम लाग्ने भएकाले जिल्लाका बासिन्दा सुधारिएको चुलोतर्फ आकर्षित भएका हुन् ।
सन् २००२ बाट ग्रामीण प्रविधि केन्द्रमार्फत म्याग्दीमा राष्ट्रिय सुधारिएको चुलो कार्यक्रम लागु भएको हो । कार्यक्रम लागु भएपश्चात् ग्रामीण भेगका बासिन्दा घरमा सुधारिएको चुलो जडान गर्न अग्रसर भएका हुन् ।
नेपाल र डेनमार्क सरकारबीच सन् १९९९ मा भएको सहमतिअनुसार नेपालमा राष्ट्रिय सुधारिएको चुलो कार्यक्रम लागु भएको हो । हाल उक्त कार्यक्रम वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ऊर्जा क्षेत्र सहयोग कार्यक्रमको सहयोगमा ग्रामीण प्रविधि केन्द्र, काठमाडौँले स्थानीय फ्युचर नेपालमार्फत सञ्चालन गर्दै आएको छ ।
हालसम्म बेनी नगरपालिका, बाबियाचौर, पात्लेखेत, भकिम्ली, बरङ्जालगाएतका जिल्लाका १४ गाविसमा कार्यक्रम विस्तार भएको छ । कार्यक्रमबाट स्थानीय तहमा चुलो बनाउन जान्ने ११० जना दक्ष जनशक्ति तयार भइसकेको ग्रामीण प्रविधि केन्द्र क्षेत्रीय नवीकरणीय ऊर्जा कार्यक्रम कालीगण्डकी प्रबर्धक सङ्घका अध्यक्ष भीमबहादुर थापाले बताउनुभयो ।
स्थानीय सामुदायिक वन उपभोक्ता समिति, गैरसरकारी संस्था कदम म्याग्दी र कालीगण्डकी प्रबर्धक सङ्घले सुधारिएको चुलो जडानका लागि लाग्ने सामग्री निःशुल्क उपलब्ध गराउन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा सुधारिएको चुलो जडान गर्न अग्रसर भएका हुन् ।
खाना पकाउन, गाईवस्तुलाई कुँडो पकाउन साथै रक्सी बनाउन अत्यधिक मात्रामा दाउराको प्रयोग गरिँदै आएको पाइन्छ । वरङ्जा, भकिम्ली, ओखरबोटलगायतका गाविसका बासिन्दाले अत्यधिक मात्रामा वन फँडानी गर्न थालेपश्चात् वन जोगाउन वन उपभोक्ता समूहका प्रत्येक सदस्यका घरमा सुधारिएको चुलो निर्माण गर्न अभियान थालेका छन् ।
चुलो बनाउन रु ३०० देखि रु ६०० सम्म खर्च लाग्ने सुधारिएको चुलोे प्रमोटर रामसिंह सापकोटाले बताउनुभयो । सुधारिएको चुलो सबै घरमा निर्माण गरी प्रयोग गरे वन र वातावरण जोगिने विश्वास सापकोटाले लिएका छन् ।
चुलो निर्माण गर्न अनुदान प्रदान गर्न सकेमा धेरै मात्रामा वन जङ्गल जोगाउन सकिने जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणि सापकोटा बताउनुहुन्छ ।
धुवाँबाट दम, फोक्सोको क्यान्सर, मुटुरोग, आँखाको रोग जस्ता रोग लाग्ने हुनाले धुवाँलाई रोकथाम गर्न सकेमा धेरै रोगबाट बचाउन सकिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपाने बताउनुहुन्छ ।
म्याग्दी जिल्लामा हालसम्म सात हजारको सङ्ख्यामा सुधारिएको चुलो निर्माण भइसकेकोे छ ।
प्रतिक्रिया