चार वर्षदेखि गाउँ अन्धकार

इनेप्लिज २०७१ फागुन १३ गते ५:०९ मा प्रकाशित

no-lightवीरगन्ज (पर्सा), १३ फागुन । जिल्लाको सुर्जाहा गाविसको तीनवटा वडा विगत चार वर्षदेखि अन्धकारमय भएको छ ।

स्थानीयस्तरमा गठन गरिएको विद्युत् उपभोक्ता समितिले स्थानीयसँग विद्यु्त महसुल उठाए पनि नेपाल विद्युत् प्राधिकरण वीरगन्ज शाखालाई भुक्तानी नगरेपछि प्राधिकरणले विद्युत् सेवा काटिदिएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

विगत चार वर्षदेखि विद्युत् सेवाविहीन अवस्थामा आफूहरु रहेको सुर्जाहा गाविस– ७, ८ र ९ का स्थानीयले बताएका छन् । तर, विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी महतो कोइरीले अब छिट्टै विद्यु्त् महसुल बुझाउने प्रतिक्रिया दिनुभयो ।

यसैगरी पर्साको धोबिनी गाविसको वडा नम्बर ३, ४, ५ र ६ का स्थानीय पनि विगत तीन महिनादेखि विद्युत्विहीन भएको स्थानीयले बताएका छन् ।

सोही स्थानमा गठन गरिएको विद्युत् समितिका अध्यक्ष इद्रिश मियाँले महसुस नबुझाएका कारण लाइन काटिएको भन्दै तत्काल भुक्तानी गर्ने बताउनुभयो । गाउँमा विद्युत् सेवा अवरुद्ध भएपछि आफूहरु प्रत्यक्ष मारमा परेको स्थानीयले बताएका छन् ।

विद्युत् नहुँदा सो ठाउँका सबै कुटानीपिसानी उद्योगसमेत बन्द भएका छन् ।

प्रतिक्रिया